global ime bank Long Banner Ad

गृहपृष्ठ संसदीय समितिद्वारा सहकारी संस्थाको अनुगमन

संसदीय समितिद्वारा सहकारी संस्थाको अनुगमन

संसदीय समितिद्वारा सहकारी संस्थाको अनुगमन

कर्णाली प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिले प्रदेश सरकारबाट अनुदान लिएका सहकारी संघसंस्थाको स्थलगत अनुगमन गरेको छ । समितिका अध्यक्ष राजु नेपाली नेतृत्वको संसदीय टोलीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा गत आर्थिक वर्षमा अनुदान पाएका सुर्खेतका सहकारी संस्था तथा व्यक्तिगत फार्मको अनुगमन गरेको हो ।

समितिले बराहताल गाउँपालिका-८ झुल्केपानीस्थित हातेमालो कृषि तथा सहकारी संस्था वीरेन्द्रनगर-११ स्थित केपी व्यावसायिक सेवा प्रालि, पञ्चपुरी नगरपालिका-६ भावरस्थित हाम्रो कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको स्थलगत अनुगमन गरेको थियो । मन्त्रालयले गत आर्थिक वर्ष २०७५/७६ का लागि अर्गानिक मल तथा जैविक विषादी उत्पादन प्रयोजनका लागि हातेमालो कृषि तथा सहकारी संस्थालाई ४० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो ।

उक्त सहकारीले अर्गानिक उत्पादनसम्बन्धी कुनै पनि संरचना निर्माण नगरेर बजेट दुरुपयोग गरेको पाइएको छ । यसबाट आफूहरुले कुनै लाभ नपाउने भन्दै अन्य सदस्यले संसदीय टोलीसमक्ष गुनासो पोखेका थिए । पञ्चपुरी नगरपालिका-६ भावरस्थित हाइटेक नर्सरी बनाउन ६६ लाख ९० हजार रुपैयाँ हाम्रो कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडले अनुदान लिएको थियो । अनुगमनका क्रममा संसदीय समितिले तीन वटा टनेल मात्र निर्माण गरेको फेला पारेको थियो ।

मन्त्रालयले सहकारी संस्था मात्र होइन, व्यक्ति फार्मलाई समेत अनुदान उपलब्ध गराएको पाइएको छ । वीरेन्द्रनगर-११ स्थित केपी व्यावसायिक सेवा प्रालिले २० लाख रुपैयाँ भुक्तानी पाइसकेको छ । प्रालिका सञ्चालक कृष्ण ढकालले साउनदेखि गाईपालन सुरु गरेर जैविक मल, जैविक विषादीका साथै बायोग्यासबाट पशुका दाना उत्पादन गरिरहेको बताए । समितिका अध्यक्ष नेपालीले गत वर्ष अनुदान लिएका अन्य सहकारीको अनुगमन गरेपछि बैठक बसेर प्रतिवेदन तयार गरिने बताए । (रासस)

प्रकाशित समय : १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु