काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सीमामा सधैँ भारतको किचलो

16.91K
shares

भारतले सीमा अतिक्रमण गर्ने विषय नेपालका लागि नौलो होइन । कहिले सीमा स्तम्भ सारेको त कहिले जमिन नै हडपेको समाचार पटक-पटक चर्चामा आउँछ । अनि त्यतिकै सेलाउँछ । सुस्ता र कालापानीजस्ता नेपाली भूभागलाई भारतले सिमाना मिचरै आफ्नो दाबी प्रस्तुत गरिरहेको छ । त्यतिले मात्र नपुगेर नेपालले प्रतिवाद गर्दागर्दै पनि लिपुलेकलाई भारतले आफ्नो देशको नक्साभित्र समावेश नै गर्‍यो ।

कालापानीकै कुरा गर्ने हो भने पनि सन् १९६२ सम्म त्यो क्षेत्रको विषयमा कुनै विवाद थिएन । सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । र, कालीनदी नै नेपाल–भारत सिमाना हो । त्यसयता ४४ वर्षसम्म लिम्पियाधुरा नै कालीको मुहानको रूपमा निर्विवाद थियो । २०१८ सालमा लिम्पियाधुरा क्षेत्रको गुन्जी, गर्‍ब्याङ र नाभी गाउँमा नेपालले जनगणना गराएको थियो । तत्कालीन जोनल अफिसर भैरव रिसाल (वरिष्ठ पत्रकार)ले सो क्षेत्रको जनगणना गराएका थिए ।

पटक–पटक नेपाललाई दुःख दिइरहने, दमन गरिरहने भारतले ‘नेपाल पनि एक स्वतन्त्र देश हो’ भन्ने नबुझेजस्तै गर्दै आएको छ । भूगोलले सानो वा ठूलो, विकास र आर्थिक प्रगतिले तल वा माथि जे भए पनि हरेक देशको सम्प्रभुता समान हुन्छ । नेपाल एक सार्वभौमसम्पन्न देश हो । यो कुरामा भारतले बुझ पचाएको छ ।

नेपालले पनि सीमा समस्याको विषयमा भारतीय पक्षसँग कुटनीतिक पहल गर्नु जरुरी छ । भारत–चीन युद्धताका भारतले चीनसँगको त्रिदेशीय सीमा क्षेत्रको सामरिक बिन्दुमा आफ्नो सुरक्षा फौज जब तैनाथ गर्‍यो, त्यसै बेलादेखि नै नेपाली भूमिमाथि भारतले ‘गिद्धेनजर’ लगाउन थालेको हो । भारतले त महाकालीको मुहानसमेत सार्दै नेपालतर्फको खोल्सालाई नै महाकालीको मुहान बताउन थाल्यो । त्यस ठाउँमा सैन्य क्याम्प खडा गरेर भारतले नेपाली भूमि बिस्तारै नियन्त्रणमा लिएको इतिहास छ ।

भारतले नेपाललाई समान हैसियत र सम्मानको हकदार छिमेकी ठानेको इतिहास छैन । बरु, बेला–कुबेला ‘मित्र राष्ट्र’को अनेक खाले हस्तक्षेप सहन नेपाल विवश छ । पछिल्लोपटक २०७२ सालमा ६ महिना लामो भारतीय नाकाबन्दी यसैको उदाहरण हो ।

नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच सन् १८१६ मा सुगौली सन्धि हुँदा काली नदीलाई सीमा मानिएको थियो । तर, सन् १९६२ को चीनसँगको युद्धमा भारत कालीनदी पार गरेर नेपाली भूमिमा प्रवेश गर्‍यो  । यसरी भारतीय फौजले २०२६ सालमा कालापानी क्षेत्र आफ्नो कब्जामा पार्‍यो । जुन कुरा लामो समयसम्म नेपालले थाहै पाएन । जब थाहा पायो, तत्कालीन पञ्चायती सरकार यो विषयमा केही बोल्न सकेन  ।

कालापानी क्षेत्रमा भारतीय सैन्य उपस्थिति र नेपालको मिचिएको भूमिको विषय आम जनताबीच २०५० सालपछि मात्र सार्वजनिक जानकारी र चासोको विषय बन्यो ।

२०५१ सालमा गठित मनमोहन अधिकारी नेतृत्वको सरकारले कालापानीलगायत सीमा विवाद समाधान गर्नुपर्ने विषय उठान गरेको थियो । त्यसपछि शेरबहादुर देउवाको प्रधानमन्त्रीकाल २०५४ सालमा पनि उही विषय उठाइयो । तत्कालीन भारतीइ प्रधानमन्त्री इन्दरकुमार गुजरालले कालापानीबाट भारतीय फौज हटाउने र सीमा समस्या समाधान गर्ने वचन दिएका थिए । तर, उनको वचन कार्यान्वयन भने भए ।

विवादित सीमा क्षेत्र लिपुलेकमा पनि भारत र चीनले व्यापारिक करिडोर निर्माण गर्ने सम्झौता गरेको बेला तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले टेलिफोन गर्दा समकक्षी नरेन्द्र मोदीले फोन नै उठाएनन् । करिडोर निर्माणको सम्झौतासँग नेपाली भूमि अतिक्रमणमा छिमेकी चीन पनि मुछिएको छ । कालीनदी सीमा नदी भएकाले त्योभन्दा ३१० वर्गकिलोमिटर क्षेत्र पूर्वको नेपाली भूमि लिपु–भञ्ज्याङ पनि नेपालकै हुनेमा प्रश्नै नउठ्नुपर्ने हो । तर, नेपाललाई जानकारी नै नदिई लिपुलेक भञ्ज्याङबाट व्यापार आदान–प्रदान गर्न चीन र भारतले चार वर्षअघि सम्झौता गरे ।

लिपुलेक क्षेत्र भारतले आफ्नो सीमाभित्र पार्दै केही दिनअघि नक्सा सार्वजनिक गरेपछि नेपालमा यसको चर्को विरोध भइरहेको छ । सबै राजनीतिक दल, नेताहरुदेखि सर्वसाधारणसम्मले भारतीय कदमको विरोध गरेका छन् । विरोधको क्रममा भारतीय प्रधानमन्त्रीको पुत्लासमेत जलाएका छन् । विद्यार्थी संगठनहरुले काठमाडौँस्थित भारतीय दूतावासअगाडि ‘गो ब्याक इण्डिया’को नारा लगाएका छन् ।

कूटनीतिक पहल आवश्यक : परराष्ट्रविद् थापा

न्युज कारोबारसँगको कुराकानीमा परराष्ट्रविद् डा. भेषबहादुर थापा भन्छन्, ‘भारतले नेपाललाई उहिलेदेखि नै दमनमा पार्दै आएको हो । सन् १९६२ देखिकै भारतले आफूलाई सहज हुने ठाउँमा सीमा मिच्दै आएको छ । नेपालले प्रतिवाद गर्दा पनि भारतले कुनै वास्ता गरेन ।’

लिपुलेकबारेमा नेपालले कूटनीतिक तवरबाट पहल गरेमा भारतले चासो देखाउनसक्ने उनले बताए । ‘नेपालले जति नै कडा विरोध जनाए पनि भारतले नक्सा फेर्न सक्ने विषयमा भने केही भन्न सकिन्न,’ उनले भने । थापाका अनुसार नेपालले सोझै भारतसँग लडाइ गर्न सक्दैन । कूटनीतिक माध्यमबाट द्विपक्षीय वा बहुपक्षीय वार्ता गर्नुपर्छ । थापा भन्छन्। ‘यो तरिकाबाट केही उपलब्धि हुनसक्ला । नत्र केही भन्न सकिँदैन ।’

भारतीय नयाँ नक्साबारे कसले के भने ?

डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ट्वीट गरेका छन्, ‘लिम्पियाधुराबाट निस्कने महाकाली नदी नेपालको पश्चिमी सीमा भएको सुगौली सन्धिबाट स्थापित ध्रुवसत्य हो ! त्यसभन्दा पूर्वका कालापानी, लिपूलेक क्षेत्र स्वतः नेपालका अविभाज्य भूभाग हुन् ! परन्तु आफूलाई बढी ‘राष्ट्रवादी’ठान्ने राजा महेन्द्रले त्यहाँ भारतीय सैनिक राख्न दिएदेखि उठेको विवाद हल गर्न बनेको संयन्त्रले काम पूरा नगर्दै भारत सरकारले एकपक्षीय रूपमा सो क्षेत्र समेटेर नक्सा जारी गर्नु कुनै पनि स्वाभिमानी नेपालीलाई सह्य हुन सक्दैन ! ठूलो आकारको छिमेकी देश हुनाले उसले नै यस मामिलामा बढी उदारता देखाउनुपर्ने हो ! वार्ताद्वारा सत्यतथ्यका आधारमा शीघ्र यो समस्या हल होस् !’

भीम रावल

नेकपाका नेता भीम रावलले पनि भारतीय नयाँ नक्साको कडा विरोध गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्सामा भारतीय भूमि भनी देखाएकोप्रति नेपाल सरकारले आपत्ति गर्नुपर्छ । यसबारे नेकपा स्थायी कमिटिको र सर्वदलीय बैठक बोलाउनुका साथै कुटनीतिक माध्यमबाट तत्काल कुरा गरिनु पर्छ । भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो ।’

विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि लेखेका छन्, ‘दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको छ । सम्माननीय प्रधानमन्त्री ! कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् । नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् । नेपाली माटोका बारे कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य छ ।’

खगेन्द्र संग्रौला

त्यस्तै विश्लेषक तथा लेखक खगेन्द्र संग्रौलाले पनि विरोध जनाएका छन् । उनले लेखेका छन्, ‘प्रम ओलीले भनेछन्, ‘कालापानीबाट भारतीय सेना हट्नुपर्छ, सरकारले कुटनीतिक पहल गर्छ ।’ कालापानी दिल्लीका दादालाई टक्राउने राजा महेन्द्रले पनि यसो भन्या हुँदा हुन् । यस्तो पहल कुन शुभ साइतमा शुरू हुन्छ, मान्यवर ? जनताले विरोध बोल्दा केही गर्छु भन्ने र कानमा तेल हालेर सुत्ने त चलनै छ !’

कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भनेका छन्, ‘कालापानी, लिपुलेक नेपालको अविभाज्य भूमि हो । भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर विरोध गर्दै आएको छ । हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ । यो आपत्तिजनक र अस्वीकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न प्रधानमन्त्रीको ध्यान जाओस् ।’

आनन्दराम पौडेल

राजनीतिक विश्लेषक आनन्दराम पौडेलले ट्वीट गर्दै लेखेका छन्, ‘कालापानीको विषयलाई जनतासम्म पुर्याउने काम प्रेमसिंह धामीले गरेका हुन् । कालापानीको विषयमा यिनले लगातार लेखेर प्रकाशित गरिरहे र राष्ट्रिय बहसकै विषय बन्यो । शेरबहादुर देउवा पहिलोचोटी प्रधानमन्त्री भएका थिए । प्रेमसिंह धामीलाई बोलाएछन् ।’