कास्की- २ मा २२ जनाकोे उम्मेदवारी
वि.सं.२०७६ कात्तिक २२ शुक्रवार ००:५०
shares

कास्की क्षेत्र नं. २ मा प्रतिनीधि सभा सदस्यको उपनिर्वाचनका लागि २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ११ राजनीतिक दलका साथै ११ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिए ।
उम्मेदवारहरु फूलमाला लगाएर बाजागाजासहित जिल्ला निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराउन पुगेका थिए । नेकपाको तर्फबाट विद्या भट्टराई, नेपाली कांग्रेसका पुराना नेता खेमराज पौडेल, साझा पार्टीकी रजनी केसी, समाजवादी पार्टीका धर्मराज गुरुङ, रापप्राका रोमबहादुर भण्डारी, राप्रपा संयुक्तका गंगा मल्ल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
त्यसैगरी मंगोल नेशनल अर्गनाइजेशनका रियाज गुरुङ, संघीय लोकतान्तिक राष्ट्रिय मञ्चका गजेन्द्र सुब्बा, नेकपा मालेका टेकनाथ भण्डारी, देशभक्त समाजबाट विरबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, नेपाली कांग्रेस (बीपी)बाट चन्द्रबहादुर रानाभाटले उम्मेदवारी दर्ता गराएका हुन् ।
दीपक रेग्मी, सुनिल भुषाल, रणबहादुर दमाई, कमलजंंग कुँवर, उमनाथ गौतम, जमुना शर्मा, नवराज बाँस्तोला, पुरुषोत्तम खनाल, यज्ञप्रसाद पंगेनी, लक्ष्मी भुजेल र सुनिल कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गराएपछि राजनीतिक दलहरुले आमसभासमेत गरेका थिए ।
मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्कीमा ३२ वटा मतदान स्थल र ८२ वटा मतदान केन्द्र रहने निर्वाचन कार्यालयले जनाएको छ । ७१ हजार ८ सय ७१ जना मतदाताले उपनिर्वाचनमा मतदान गर्दैछन् ।

























