इनड्राइभको नयाँ क्याम्पेन ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ सार्वजनिक
वि.सं.२०८३ असोज २७ मंगलवार ०८:१६
shares

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा यात्रुलाई लक्षित गर्दै नयाँ ‘प्यासेन्जर ३६०’ क्याम्पेन ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ सार्वजनिक गरेको छ। क्याम्पेनले यात्रु र चालकबीच आपसी सहमतिमा भाडा निर्धारण गर्ने प्रणालीलाई प्राथमिकतामा राखेको छ।
इनड्राइभको एपमार्फत यात्रुले सुझाइएको भाडा हेरेर आफूले तिर्न चाहेको रकम प्रस्ताव गर्न सक्छन्। नजिकै रहेका चालकले उक्त प्रस्ताव स्वीकार गर्न वा वैकल्पिक भाडा प्रस्ताव गर्न सक्छन्। त्यसपछि यात्रुले भाडा, चालक आइपुग्ने अनुमानित समय, चालकको रेटिङ र सवारीसाधनका आधारमा उपयुक्त चालक छनोट गर्न सक्छन्।
यात्रा सुरु हुनुअघि नै भाडा तय हुने भएकाले यात्रुले तिर्नुपर्ने रकमबारे अग्रिम जानकारी पाउँछन्। यसले दैनिक आवतजावतका क्रममा भाडाको पूर्वजानकारी र समयमै सवारी उपलब्ध हुने विषयलाई महत्त्व दिएको कम्पनीले जनाएको छ।
यो प्रणालीले चालकलाई पनि सवारी अनुरोध स्वीकार गर्ने वा प्रस्तावित भाडामा असहमति भए वैकल्पिक रकम प्रस्ताव गर्ने स्वतन्त्रता दिन्छ। यसरी यात्रु र चालक दुवैको सहमतिमा भाडा निर्धारण हुने अवधारणालाई क्याम्पेनले प्रस्तुत गरेको छ।
इनड्राइभका एसिया प्यासिफिक क्षेत्रीय निर्देशक मार्क टलीले काठमाडौंका यात्रुका लागि भाडाको पूर्वजानकारी र समयमै सवारी उपलब्ध हुनु महत्त्वपूर्ण रहेको बताए। उनले आपसी सहमतिमा भाडा निर्धारण गर्ने व्यवस्था इनड्राइभको प्रमुख विशेषता भएको उल्लेख गर्दै यसले यात्रु र चालक दुवैलाई निर्णय प्रक्रियामा सहभागी गराउने बताए।
इनड्राइभकी ब्रान्ड एम्बेसडर तथा अभिनेत्री स्वस्तिमा खड्काले पनि यात्रु र चालकबीचको पारदर्शिता तथा आपसी सहमतिलाई यस क्याम्पेनको मुख्य विशेषता बताइन्। उनका अनुसार यात्रा सुरु हुनुअघि नै भाडा तय हुँदा यात्राका क्रममा भाडासम्बन्धी असमझदारी कम गर्न सहयोग पुग्छ।
क्याम्पेनअन्तर्गत इनड्राइभले स्वस्तिमा खड्का अभिनीत नयाँ भिडियोसमेत सार्वजनिक गरेको छ। नेपाली मौलिक संस्कृति झल्काउने संगीत र स्थानीय परिवेश समेटिएको भिडियोले यात्रु र चालकबीचको आपसी सहमति, विश्वास र सन्तुष्टिको सन्देश प्रस्तुत गरेको कम्पनीले जनाएको छ।
























