ललितपुरमा इटालियन शैलीको जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’ सुरु
वि.सं.२०८३ असोज २७ मंगलवार ०८:१०
shares

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) का अध्यक्ष सञ्जय अग्रवालले ललितपुरको सानेपामा इटालियन शैलीबाट प्रेरित प्रिमियम जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’को उद्घाटन गरेका छन्। असोज २५ गते आयोजित उद्घाटन समारोहमा अग्रवाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
मोनिका टापरिया र विपिन अटलले स्थापना गरेको ‘नट्स एन्ड स्कूप’ले इटालियन जेलाटो बनाउने परम्परागत सीप र शैलीबाट प्रेरित स्वाद नेपाली बजारमा ल्याएको छ। ब्रान्डले २० भन्दा बढी स्वादका जेलाटो उपलब्ध गराउने जनाएको छ।
व्यावसायिक जेलाटो उत्पादनका लागि प्रयोग हुने इटालियन उपकरण, उच्च गुणस्तरका कच्चा पदार्थ तथा इटालीस्थित जेलाटो युनिभर्सिटीबाट विशेष तालिम लिएका संस्थापकहरूको अनुभवले ब्रान्डको गुणस्तर र नवप्रवर्तनप्रतिको प्रतिबद्धता झल्काउने कम्पनीको भनाइ छ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले यस उद्यमशील पहलको प्रशंसा गर्दै नेपाल र इटालीबीच परम्परागत व्यापारभन्दा बाहिर पनि सहकार्यका सम्भावना विस्तार हुँदै गएको बताए।
नेपाल–इटाली चेम्बर अफ कमर्सका अध्यक्षका रूपमा अग्रवालले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन व्यापार, लगानी, व्यावसायिक साझेदारी, पर्यटन तथा सांस्कृतिक आदानप्रदान प्रवर्द्धनमा जोड दिँदै आएका छन्। उनले अन्तर्राष्ट्रिय विशेषज्ञता, सीप र नवप्रवर्तनलाई नेपालमा भित्र्याउने तथा दुवै देशका नागरिकबीच सम्बन्ध विस्तार गर्ने उद्यमलाई प्रोत्साहन गर्नुपर्ने बताए।
‘नट्स एन्ड स्कूप’को सुरुवातले इटालियन पाक परम्परा र विशेषज्ञताबाट नेपालमा उद्यमशीलता प्रवर्द्धन गर्न सकिने सम्भावना देखाएको छ। यसले दुई देशबीच सांस्कृतिक आदानप्रदानलाई बढावा दिनुका साथै आपसी सम्बन्ध थप प्रगाढ बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
संस्थापकहरूले नवप्रवर्तन, ग्राहकको प्रतिक्रिया र इटालीमा थप व्यावसायिक तालिममार्फत आफ्ना उत्पादन तथा सेवालाई निरन्तर परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूका अनुसार उद्घाटनकै दिन २०० भन्दा बढी ग्राहकले आउटलेट भ्रमण गरेका थिए।
सानेपाबाट सेवा सुरु गरेको ‘नट्स एन्ड स्कूप’ले नेपालमा प्रिमियम जेलाटोको गन्तव्यका रूपमा स्थापित हुने लक्ष्य राखेको छ। इटालियन पाककला र शिल्पकौशलको अनुभव नेपाली उपभोक्तामाझ पुर्याउनुका साथै उद्यमशीलता र अन्तरसांस्कृतिक सहकार्यलाई प्रोत्साहन गर्नु ब्रान्डको उद्देश्य रहेको छ।
























