काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

चार करोड बढीको अवैध सामान बरामद

377
shares

भद्रपुर । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाले भन्सार छली, अवैध चोरी–निकासी र पैठारीका चार करोड १५ लाख ६२ हजार ३७३ मूल्य बराबरका सामान बरामद गरेको छ ।

गणका अनुसार गत साउनमा एक करोड ५५ लाख पाँच हजार ६२६, भदौमा एक करोड ४८ लाख एक हजार ८१८ र असोज महिनाको हालसम्म एक करोड १२ लाख ५४ हजार ९२९ मूल्य बराबरको अवैध सामान बरामद गरिएको हो । आर्थिक वर्ष २०८२÷८३ को सोही अवधिमा दुई करोड २० लाख ८९ हजार ५७८ मूल्य बराबरका अवैध सामान बरामद भएको थियो ।

भन्सार छली तथा अवैध चोरी–निकासी र पैठारीमा सङ्लग्न चार जनालाई नियन्त्रणमा लिई ३५ वटा सवारीसाधनसहित आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको गणले जनाएको छ ।

झापास्थित सशस्त्र प्रहरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले सीमा क्षेत्रमा हुने भन्सार छली, अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रणका लागि निगरानी र सुरक्षा परिचालनलाई प्रभावकारी बनाइएको बताए । उनले अवैध गतिविधि नियन्त्रणका लागि भन्सार, नेपाल प्रहरीलगायत सम्बन्धित निकायसँग समन्वय र सहकार्यलाई प्राथमिकता दिइएको जानकारी दिए ।

“चोरी–निकासी तथा पैठारी नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै नाकाबाटै अवैध गतिविधि नियन्त्रण गर्ने गरी परिचालन भइरहेका छौँ,” उनले भने । सशस्त्र प्रहरीले राजस्व चुहावट नियन्त्रणसँगै सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार नियन्त्रणमा निगरानी बढाएको जनाएको छ । चालु आवको हालसम्म ५८ दशमलव ८९ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद गरिएको छ । लागूऔषध ओसारपसारमा सङ्लग्न दुई महिलासहित १५ जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी सुजित विष्टले जानकारी दिए ।

यसैगरी, नदीजन्य पदार्थको नियमविपरीत उत्खनन तथा ओसारपसारमा प्रयोग भएका २६ वटा सवारीसाधन नियन्त्रणमा लिई छ लाख ५० हजार जरिवाना गरिएको छ ।

सूचना अधिकारी विष्टका अनुसार राजस्व चुहावट नियन्त्रणमा खटिएका सम्बन्धित निकायका कर्मचारीसँग समन्वय तथा सहकार्य गर्दै सशस्त्र प्रहरी सीमा क्षेत्रमा निरन्तर परिचालित हुँदै आएको छ । सीमा क्षेत्रमा निगरानी र सुरक्षा परिचालन बढाउँदा अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र राजस्व चुहावट न्यूनीकरणमा सहयोग पुगेको उनले बताए ।

सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा नागरिकको सेवा र सुरक्षालाई प्राथमिकतामा राखेर कार्यसम्पादन भइरहेको बताए । सीमा क्षेत्रमा कुनै पनि प्रकारका गैरकानुनी गतिविधि हुन नदिन मातहतका युनिटलाई आवश्यक निर्देशन दिइएको उनले जानकारी दिए ।