निरंकुश राजतन्त्रविरुद्ध न्यूयोर्कमा आन्दोलन गरेका गोरखबहादुर कांग्रेस केन्द्रीय सदस्यको दौडमा
वि.सं.२०८३ असोज १८ आइतवार १६:४८
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गोरखबहादुर बिष्ट ‘आनन्द’ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
विगत तीन दशकभन्दा बढी समयदेखि निरन्तर लोकतान्त्रिक आन्दोलन, साङ्गठनिक सुदृढीकरण, सामाजिक सेवा र जनजीविकाका सवालमा अग्रमोर्चामा क्रियाशील बिष्टले पार्टीलाई नयाँ युग र नयाँ पुस्ताको आवश्यकताअनुसार गतिशील, उत्तरदायी तथा नतिजामुखी बनाउने मुख्य सङ्कल्पसहित केन्द्रीय तहमा उम्मेदवारी घोषणा गरेका हुन्।
बिष्टले आफू कुनै व्यक्तिगत पद, प्रतिष्ठा वा महत्त्वाकाङ्क्षाका लागि नभई जनता र पार्टीका कार्यकर्ताको सच्चा सेवक बनेर केन्द्रीय नीति निर्माण तहमा योगदान दिन मैदानमा उत्रिएको बताए।
पार्टीलाई गुटबन्दी र आन्तरिक खिचातानीभन्दा माथि उठाएर पूर्ण रूपमा एकताबद्ध, मर्यादित र अनुशासित बनाउने सङ्कल्प रहेको उनको भनाइ छ।
यसैगरी, विदेशमा रहेका लाखौँ नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई राष्ट्र निर्माणमा जोड्ने तथा प्रवासमा रहेका नेपाली जनसम्पर्क समितिहरूलाई अझ प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
‘कांग्रेसलाई सुददृढ, नीतिगत स्पष्टता र युवा पुस्ताको आशाको केन्द्र बनाउनका लागि म सधैँ सक्रिय रहने छु। प्रविधिमैत्री पार्टी, सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, रोजगारी, उद्यमशीलता, आर्थिक रूपान्तरण, समावेशी र एकताबद्ध कांग्रेस जस्ता विषयमा म सधैँ प्रतिवद्ध छु। त्यसैले तपाईंहरूले मलाई केन्द्रीय सदस्यका रुपमा विजयी गराउनुहुने छ भन्ने पूर्ण विश्वास लिएको छ,’ उनले भने।
कांग्रेस चुनाव जित्ने माध्यम मात्र नभइ मुलुकको सामाजिक र आर्थिक रूपान्तरणको मुख्य संवाहक भएकाले पार्टीलाई आधुनिक, पारदर्शी र आम जनताको विश्वासयोग्य बनाउन आफ्नो केन्द्रीय सदस्यमा दाबी रहेको बिष्टले प्रस्ट पारेका छन्।
बिष्ट कैलाली ४ बाट अत्याधिक र लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। उनले कुल खसेको ६९० मतमध्ये ५६० मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा शानदार जित हासिल गरेका थिए।
विद्यार्थी जीवनबाटै बिष्टमा उच्च राजनीतिक चेत थियो। बिष्ट २०४६ को जनआन्दोलनताका भारतको देहरादुनमा अध्ययन गर्थे। त्यसक्रममा उनले देहरादुनबाट नयाँ दिल्ली पुगेर नेपालमा बहुदलीय प्रजातन्त्रको माग गर्दै आयोजना गरिएका प्रदर्शनहरूमा सक्रियतापूर्वक सहभागिता जनाएका थिए।
त्यसपछि उनी नेपाल फर्किएर काठमाडौंको शंकरदेव क्याम्पसमा अध्ययन गर्नथाले। त्यसै क्रममा सन् १९९८ मा उनी उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगे। अमेरिकामा रहेर पनि उनले देशको लोकतान्त्रिक आन्दोलनलाई निरन्तर सहयोग पु-याइरहे।
सन् १९९९ मा उनले न्युयोर्कमा ‘नेप्लिज डेमोक्रेटिक युथ काउन्सिल’ स्थापना गरी संस्थापक संयोजकको भूमिका निर्वाह गरे। सन् २००२ मा संयुक्त राष्ट्रसंघको भवनअगाडि निरंकुश राजतन्त्रको विरोध र लोकतन्त्रको पक्षमा विशाल ¥यालीको नेतृत्व उनैले गरेका थिए।
२०६२।६३ को जनआन्दोलनका क्रममा अमेरिकाका विभिन्न सहरमा विशाल प्रदर्शन गराई अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउन बिष्टले खेलेको भूमिकाको प्रशंसा गर्दै तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई नेपाली जनसम्पर्क समिति गठन गर्ने जिम्मेवारी दिएका थिए।
सन् २००५ मा जनसम्पर्क समिति अमेरिकाका संस्थापक संयोजक बनेका बिष्ट सन् २००८ र २०१४ मा दुई कार्यकाल अमेरिका समितिको निर्विरोध तथा भारी मतका साथ सभापति निर्वाचित भए। उनको नेतृत्वमा अमेरिकाभर २६ वटा च्याप्टरहरू विधिवत् रूपमा विस्तार भए।
११ औँ देखि १४ औँ महाधिवेशनसम्म लगातार महासमिति सदस्य रहेका बिष्ट १३ औँ महाधिवेशनपछि तत्कालीन सभापति शेरबहादुर देउवाद्वारा आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका थिए। भूगोलबाहिरबाट नेपाली कांग्रेसको केन्द्रीय समितिमा मनोनित हुने उनी पहिलो व्यक्ति हुन्।
राजनीतिसँगै बिष्टको लोभलाग्दो सामाजिक छवि रहेको छ। अमेरिका पुग्ने नेपालीहरूका लागि उनको दैलो सधैँ खुला रहने गर्छ।
बसोबासको प्रबन्ध मिलाउनेदेखि हजारौँ विद्यार्थीलाई रोजगारी दिलाउन, बिरामीको उपचार गराउन र कुनै नेपालीको निधन भएमा शव नेपाल पठाउने वा अन्त्येष्टि गर्नेसम्मका कार्यमा उनले निःस्वार्थ सहयोग गरेका छन्।
कोभिड–१९ महामारीका बेला न्युयोर्कमा रातदिन खटेर बिरामीहरूका लागि मास्क, सेनिटाइजर र खाद्यान्न घर–घरमै पु¥याउने कार्यमा उनी सक्रिय रहे। उनको यस अतुलनीय सामाजिक कार्यको कदर गर्दै तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई ‘उत्कृष्ट सामाजिक सेवा’बाट सम्मानित गरेका थिए भने न्युयोर्कका तत्कालीन मेयरले निवासमै पुगेर सम्मान अर्पण गरेका थिए।
नेपालमा आइपरेका विभिन्न विपद्का बेला पनि बिष्ट अग्रमोर्चामा खटिएका छन्। कोरोना महामारीमा अमेरिकाबाट एक करोड ३५ लाख रुपैयाँ संकलन गरी कांग्रेसको राहत कोषमा जम्मा गराएका उनले २०७२ को विनाशकारी भूकम्पलगत्तै नेपाल पुगेर अस्थायी टहरा निर्माण, त्रिपाल र खाद्यान्न वितरणका साथै काठमाडौँको गागलफेदीमा विद्यालय भवन पुनर्निर्माण गराएका थिए।
त्यसबाहेक दार्चुलाका बाढीपीडित, तराईका हुरीबतास र शीतलहर पीडित तथा देशका साढे दुई दर्जनभन्दा बढी जीर्ण विद्यालय भवन पुनर्निर्माणमा उनको आर्थिक तथा भौतिक सहयोग पुगेको छ। डोटीका लागि दुईवटा एम्बुलेन्स सेवा उपलब्ध गराउनेसम्मका समाजसेवामा उनी जोडिएका छन्।






















