गृहपृष्ठ भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित
भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित
कास्की । घरेलु टोली गण्डकी प्रदेशले नेपाल भ्रमणमा रहेको भुटानको राष्ट्रिय क्रिकेट टोलीलाई अभ्यास खेलमा लगातार दोस्रो पटक पराजित गरेको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकी प्रदेशले भुटानलाई ६४ रनले पराजित गरेको हो । यसअघि मङ्गलबार सम्पन्न खेलमा समेत गण्डकी प्रदेशले भुटानलाई पराजित गरेको थियो ।
आजको खेलमा टस जितेर भुटानले पहिला बलिङ रोजेपछि गण्डकी प्रदेशले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ९६ बनायो । जितका लागि एक सय ९७ रनको लक्ष्य पछ्याएको भुटानी टोेलीले १७ ओभरको चौथो बलमा सवै विकेट गुमाएर एक सय ३२ रन बनायो ।
गण्डकी प्रदेशका लागि करन पगेनीले २७ बलमा एक चौका र पाँच छक्का हान्दै ४५ रन बनाए । यस्तै सिब्रिन श्रेष्ठले २४ बलमा एक चौका र पाँच छक्का प्रहार गर्दै ४५ रनको योगदान दिए । सन्दीप खत्री क्षेत्रीले नौ बलमा अविजित ३० रन बनाए । यस्तै मुस्कान थापामगरले २१ तथा रोहित चन्दले २० रन बनाए ।
बलिङतर्फ भुटानका थिन्ले जम्त्सोले चार, सोनाम येशेले दुई तथा नाम्गे थिन्लेले एक विकेट लिए । यसैगरी भुटानका लागि एक सय ३२ रन बनाउने क्रममा सोनाम छोपेलले सर्वाधिक ४३ रन बनाए । उनले २१ बलमा छ चौका र दुई छक्का प्रहार गरे । यस्तै ताशी दोर्जीले ३१, तेन्जिन राब्गेले २१ र थिन्ले जम्त्सोले १७ रन बनाए ।
बलिङतर्फ गण्डकीका विपिन खत्रीले चार, दीपकप्रसाद डुम्रेले तीन र सिब्रिन श्रेष्ठले दुई विकेट लिए । उक्त खेलमा गण्डकीका सिब्रिन श्रेष्ठ ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।
भुटानले अब नेपाल क्रिकेट सङ्घ (क्यान–११) सँग दुई खेल खेल्ने छ । भुटानको टोली आगामी अक्टोबरमा मलेसियामा हुने आइसीसी पुरुष टी–२० विश्वकपको एसिया उपक्षेत्रीय छनोट प्रतियोगिताको तयारी गर्न नेपाल आएको हो । विदेशी टोली पोखरामा क्रिकेट खेल्न आएसँगै यहाँको क्रिकेट विकासका साथै पोखरालाई अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।
प्रकाशित समय : १९:३९ बजे


















