गृहपृष्ठ यसै वर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोरजी विस्तार गरिने

यसै वर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोरजी विस्तार गरिने

यसै वर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोरजी विस्तार गरिने

काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न यसै वर्ष दुई सय नयाँ टेलिफोन टावर निर्माण तथा एक हजार ५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए।

उनका अनुसार नेपाल टेलिकमका दुई सय नयाँ टावर निर्माणसम्बन्धी बोलपत्र मूल्याङ्कनको चरणमा छ। त्यस्तै, एक हजार ५९७ स्थानमा फोरजी सेवा सञ्चालनका लागि आवश्यक उपकरण खरिदको बोलपत्र यसै साता प्रकाशित हुने क्रममा रहेको छ।

विद्युत् अवरुद्ध हुँदा मोबाइल सेवा प्रभावित नहोस् भनेर टावरहरूको पावर ब्याकअप क्षमता बढाउने काम भइरहेको उनले बताए। पछिल्लो तीन महिनामा सातै प्रदेशका ६ सयभन्दा बढी स्थानमा ब्याट्री ब्याकअप फेरिएको जानकारी दिँदै उनले ग्रामीण क्षेत्रमा ८ देखि १० घण्टा र सहरी क्षेत्रमा ४ देखि ६ घण्टासम्म सेवा सञ्चालन गर्न सकिने बताए।

हाल करिब ५ सय ब्याट्री मौज्दात रहेको र आवश्यक स्थानमा आगामी तीन महिनाभित्र ब्याकअप अद्यावधिक गर्ने लक्ष्य रहेको उनले बताए। थप २ सय ब्याट्री खरिदका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ।

त्यस्तै, ३२ वटा सोलार साइटमा पावर ब्याकअप तथा सोलार प्रणालीको क्षमता वृद्धि गर्ने काम अघि बढेको उनले जानकारी दिए। राष्ट्रिय प्रसारण प्रणाली नपुगेका क्षेत्रमा रहेका सोलार साइटमा ब्याट्री तथा उपकरण चोरी र टावरमा भौतिक क्षति हुने गरेको भन्दै मन्त्री तिमिल्सिनाले त्यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गरिने बताए।

मन्त्री तिमिल्सिनाले भोटेकोशी बाढीका कारण नेपाल टेलिकमको मोबाइल, वायरलाइन तथा ब्याकबोन प्रसारण प्रणालीमा ८ करोड ८५ लाख १२ हजार ६८५ रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए।

रसुवा, नुवाकोट र धादिङका १२० साइटमध्ये ८३ साइटको सेवा बाढीका कारण अवरुद्ध भएको थियो। तीमध्ये त्रिशूली–३ ‘बी’, चिलिमे खोला र टिमुरेका तीन साइट पूर्णरूपमा क्षतिग्रस्त भएका थिए।

ती तीन साइटबाहेक अन्य अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याइएको उनले बताए। टिमुरेको टावरमा हेलिकप्टरमार्फत सोलार जडान गरी सेवा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

रसुवा, नुवाकोट र धादिङमा रहेको ६५ दशमलव ३ किलोमिटर फाइबर नेटवर्कमध्ये ३७ दशमलव ९ किलोमिटर बाढीबाट क्षतिग्रस्त भएकोमा २७ दशमलव ४ किलोमिटर मर्मत भइसकेको उनले बताए।

रसुवा र नुवाकोटका तीन ओएलटी पूर्णरूपमा क्षतिग्रस्त भए पनि अधिकांश पुनःप्राप्त गरी सेवा सञ्चालनमा ल्याइएको मन्त्री तिमिल्सिनाले जानकारी दिए। टिमुरे र रसुवागढी क्षेत्रमा क्षतिग्रस्त फाइबर तथा माइक्रोवेभमध्ये हाल फाइबरको सट्टा माइक्रोवेभ प्रविधिबाट ब्याकबोन प्रसारण सेवा पुनःस्थापना गरिएको उनले बताए।

प्रकाशित समय : १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु