गृहपृष्ठ उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै

उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै

उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै
लमजुङ । उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा मस्र्याङ्दी गाउँपालिका–३ की २३ वर्षीया सोविता मिजारको पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै रोकिएको छ ।
आर्थिक अवस्था कमजोर रहेको परिवारले उपचारको बाँकी रकम भुक्तानी गर्न नसक्दा सोविताको पार्थिव शरीर घर ल्याएर अन्तिम संस्कार गर्न सकेको छैन । सोविताले भदौ ३१ गते विष सेवन गरेपछि तत्कालै चितवनस्थित सरकारी अस्पताल लगिएको थियो । सरकारी अस्पतालमा सघन उपचार कक्ष (आइसियु)को सुविधा नभएपछि सोही राति उनलाई चितवन मेडिकल कलेज लगेर उपचार सुरु गरिएको सोविताका मामाका छोरा दीपक मजाकोटीले बताए ।
उनका अनुसार चितवन मेडिकल कलेजमा पु-याएपछि अस्पतालले औषधि, शल्यक्रियालगायत उपचारका लागि सुरुमा करिब डेढ लाखदेखि दुई लाखसम्म खर्च लाग्ने जानकारी परिवारलाई दिएको थियो । त्यसअनुसार परिवारले उपचार अगाडि बढाएको थियो । उपचारकै क्रममा असोज ४ गते सोविताको शल्यक्रियासमेत गरिएको थियो । तर उपचारका क्रममा सोमबार सोविताको मृत्यु भएको परिवारले जनाएको छ ।
चितवन मेडिकल कलेजको बिलिङ काउन्टरका एक कर्मचारीका अनुसार हाल अस्पतालतर्फ तीन लाख ५० हजार ९१० र अस्पतालकै फार्मेसीतर्फ दुई लाख २२ हजार ५७० गरी जम्मा पाँच लाख ७३ हजार ४८० भुक्तानी गर्न बाँकी रहेको छ । अस्पतालतर्फ बेड, ‘इमर्जेन्सी’लगायत उपचारका विभिन्न शीर्षकको रकम बाँकी रहेको कर्मचारीले जानकारी दिए ।
उनका अनुसार उपचारका क्रममा परिवारले इमर्जेन्सीमा करिब नौ हजारभन्दा बढी तथा उपचारका क्रममा करिब दुई लाख १८ हजार बुझाइसकेको छ । त्यस्तै, शल्यक्रियाका क्रममा धरौटीबापत करिब १० हजारसमेत बुझाइएको बिलिङ काउन्टरका कर्मचारीले जानकारी दिए । परिवारले भने उपचारका क्रममा ऋण खोजेर हालसम्म करिब तीन लाख भुक्तानी गरिसकेको जनाएको छ ।
“सुरुमा डेढदेखि दुई लाखभित्र उपचार हुन्छ भनिएको थियो। अहिलेसम्म ऋण खोजेर करिब तीन लाख तिरिसकेका छौँ । अब बाँकी रकम कहाँबाट ल्याउने भन्ने समस्या भएको छ”, दीपक मजाकोटीले भने । उपचारका क्रममा सोविताको निधन भएपछि चितवन मेडिकल कलेजमा पार्थिव शरीर राख्ने ठाउँको अभावमा सरकारी अस्पतालमा लगेर राखिएको परिवारले जनाएको छ ।
हाल सोविताको पार्थिव शरीर सरकारी अस्पतालमै रहेको छ । बाँकी रकम भुक्तानी गर्न नसक्दा पार्थिव शरीर घर लैजान नसकिएको परिवारको भनाइ छ । परिवारका अनुसार सोविताले विष सेवन गर्नुका कारण व्यक्तिगत सम्बन्धसँग जोडिएको विषय रहेको छ ।
लमजुङकै एक युवकसँगको सम्बन्धमा आएको समस्याका कारण उनले विष सेवन गरेको परिवारको दाबी छ । उपचारका क्रममा ती युवक अस्पताल आउने–जाने गर्दै आएको र उपचार खर्चमा सहयोग गर्ने बताउँदै आएको परिवारले जनाएको छ । परिवारका अनुसार सोविताको निधन हुनुअघिसम्म ती युवक अस्पताल आउनेजाने गरेका थिए । निधनपछि पनि रकम जुटाएर सहयोग गर्ने भन्दै आउने बताएका भए पनि हालसम्म नआएको परिवारको भनाइ छ । आज बिहानसमेत फोनमा आउने बताएका भए पनि नआएको परिवारले जनाएको छ । ती युवक आएर उपचार खर्चमा सक्दो सहयोग गरे आपसी समझदारीमा अघि बढ्ने परिवारले जनाएको छ ।
युवकबाट सहयोग प्राप्त भए बाँकी रकम अस्पतालमा बुझाएर सोविताको पार्थिव शरीर घर लैजाने तयारीमा परिवार रहेको जनाएको छ । सहयोग नआएमा घटनाबारे कानुनी प्रक्रिया अघि बढाउने विषयमा सोचिरहेको परिवारले जनाएको छ । सोविता करिब साढे तीन वर्षदेखि चितवनमा बस्दै एक रेस्टुरेन्टमा काम गर्दै आएका थिए । उनि परिवारकी जेठी छोरी थिए । परिवारमा बुबाआमा, तीन दिदीबहिनी र एक भाइ रहेको आफन्तले बताएका छन् ।
आर्थिक अभावका कारण छोरीको अन्तिम संस्कारसमेत गर्न नसक्ने अवस्थामा पुगेको परिवारले पार्थिव शरीर घर ल्याउन र अन्तिम संस्कार सम्पन्न गर्न सहयोग गरिदिन सबैसँग अपिल गरेको छ ।

प्रकाशित समय : १५:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु