गृहपृष्ठ हुथी आक्रमणको सामना गर्न साउदीलाई पाकिस्तानको साथ
हुथी आक्रमणको सामना गर्न साउदीलाई पाकिस्तानको साथ
पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक परे जुनसुकै उपलब्ध माध्यम प्रयोग गर्ने जनाएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले मंगलबार रोममा पत्रकारहरूसँग कुरा गर्दै साउदी अरबको सुरक्षाका लागि पाकिस्तान आफ्नो सैन्य क्षमता प्रयोग गर्न तयार रहेको बताएको छन् ।
उनले पाकिस्तानले यमनमा इरानसमर्थित समूहविरुद्ध भएको कुनै हवाई आक्रमणमा प्रत्यक्ष सहभागिता जनाएको हो वा होइन भन्ने स्पष्ट बताए। तर साउदी अरबको सुरक्षाका लागि आवश्यक सबै साधन उपलब्ध गराउने प्रतिबद्धता रहेको उनले बताए ।
पाकिस्तान, साउदी अरब र टर्कीएबीच हालै भएको पारस्परिक रक्षा सम्झौताअन्तर्गत एक सदस्य राष्ट्रमाथि भएको आक्रमणलाई तीनै राष्ट्रमाथिको आक्रमणका रूपमा लिइने व्यवस्था गरिएको छ ।
रक्षामन्त्री आसिफका अनुसार हुथी विद्रोहीले पछिल्ला दिनमा साउदी अरबमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण बढाएका छन् । उनीहरूले यमनको लाल सागर किनारमा आफ्नो नियन्त्रणसमेत विस्तार गरेका छन् ।
हुथीहरूले हालै रणनीतिक महत्वको मोखा बन्दरगाह सहर र लाल सागरका केही टापु कब्जा गरेका छन् । यससँगै उनीहरूको पहुँच बाब अल–मन्देब जलडमरूमध्यतर्फ थप विस्तार भएको छ । बाब अल–मन्देब जलडमरूमध्यमार्फत विश्व व्यापारको करिब १२ प्रतिशत हिस्सा आवतजावत गर्ने भएकाले यस क्षेत्रमा बढेको तनावले अन्तर्राष्ट्रिय व्यापार र समुद्री यातायातमा असर पर्न सक्ने चिन्ता छ ।
हुथी विद्रोही र इराकका उनीहरूका सहयोगी समूहले साउदी अरबका तेल प्रतिष्ठानमा समेत आक्रमण गरेका छन् । उनीहरूले साउदी तेल बोकेका पानीजहाजलाई उक्त जलडमरूमध्य प्रयोग गर्न रोक्ने प्रयाससमेत गर्दै आएका छन् ।
यसैबीच, पाकिस्तान, टर्कीए र साउदी अरबका सैन्य प्रमुखहरूले केही दिनअघि रियादमा भेटवार्ता गरेका थिए । उनिहरूले हुथी आक्रमणको जवाफ दिने विषयमा छलफल गरे ।
पाकिस्तानका रक्षामन्त्रीले हुथीहरूलाई आक्रमणकारीको रूपमा उल्लेख गर्दै साउदी अरबप्रति पाकिस्तानको सुरक्षा प्रतिबद्धता स्पष्ट रहेको बताएको छन् । पाकिस्तान, साउदी अरब र टर्कीएले अगस्ट ७ मा मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए ।
तीन देशले उक्त सम्झौता रक्षात्मक प्रकृतिको भएको र कुनै विशेष देशलाई लक्षित नगरेको बताएका छन् ।यस सम्झौताले तेलसम्पन्न साउदी अरब, उत्तर एटलान्टिक सन्धि संगठनको सदस्य टर्की र आणविक हतियार भएको पाकिस्तानलाई एउटै सुरक्षा व्यवस्थामा जोडेको छ ।
प्रकाशित समय : ११:२५ बजे


















