गृहपृष्ठ बेनी–बाबियाचौर सडक खुल्यो
बेनी–बाबियाचौर सडक खुल्यो
म्याग्दी । बेनी–बाबियाचौर सडकखण्ड सञ्चालनमा आएको छ । पछिल्लो झरीका कारण प्रभावित बनेको उक्त सडक चार दिनपछि सञ्चालनमा आएको हो ।
म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने उक्त सडक सञ्चालन भएपछि स्थानीयको जनजीवन सहज भएको छ ।
पूर्वाधार विकास कार्यालयले जिल्ला सदरमुकाम बेनीदेखि मङ्गला गाउँपालिकाको केन्द्र रहेको बाबियाचौर हँुदै पानाबगरसम्म १६ किलोमिटर सडक मर्मत गरेर मङ्गलबार साँझदेखि यातायात सञ्चालनमा ल्याएको हो ।
गण्डकी प्रदेश सरकार मातहत रहेको धवलागिरि, मालिका, मङ्गला र बागलुङको तमानखोला गाउँपालिका जोड्ने २४ किलोमिटर दूरीको बेनी दरबाङतर्फबाट बाङ्गेपहिरोसम्म मर्मत भएको छ ।
उक्त सडक असोज १० गतेदेखि अवरुद्ध हुँदा म्याग्दीको पश्चिमी क्षेत्रको जनजीवन प्रभावित भएको थियो ।
पूर्वाधार विकास कार्यालयमार्फत उपकरण परिचालन गरेर बेनीदेखि पानाबगर खण्डको सडक खुलाएको र आजदेखि पानाबगर–रणबाङ–दुखु–रातोढुङ्गा–तोलाबाङ–बाङ्गेपहिरो खण्डमा दुईतर्फबाट मर्मत कार्यलाई तीव्रता दिने म्याग्दी १९ख० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले जानकारी दिए ।
“पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहतका साथै जनजीवनलाई सहज बनाउनका लागि मुख्यमन्त्री र भौतिक मन्त्रालयसँग समन्वय गरेर जतिसक्दो चाँडो सडकमा यातायात सञ्चालनका लागि जुटेका छौँ”, उहाँले भन्नुभयो, “तीन दिनमा बाबियाचौरसम्म सडक खुलाएका छौँ ।”
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा खण्डखण्डमा उपलब्ध भएका उपकरण परिचालन गरेर सडक मर्मतको कामलाई तीव्रता दिन आफँै स्थलगत रुपमा खटिएको सांसद जुग्जालीले बताए ।
स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले आ–आफ्ना मातहत रहेका सडकलाई मर्मत गरेर जतिसक्दो चाँडो यातायात सञ्चालनको व्यवस्था मिलाउने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुुसार तीनै तहका जनप्रतिनिधि र निकायसँग समन्वय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।
पछिल्लो समय रसुवा बाढीपछि चीनसँगको मुख्य व्यापारिक नाका कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको तिल्केनीचौरमा कालीगण्डकीले सडक कटान, पोखरेबगरमा सडक पुलको पहुँचमार्ग र खामभित्तामा कटान गरेको छ । क्षतिको विवरण बुझेर सडक मर्मतको काम अघि बढाउन सङ्घीय सरकारले खटाएका प्राविधिक टोली मङ्गलबार म्याग्दी आएर सडकको निरक्षणमा जुटेका प्रजिअ गैरेले बताए । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको यातायात सम्पर्क बिच्छेद भएको छ ।
कोरला नाकाबाट हुने आयातनिर्यात प्रभावित भएको छ । मुुस्ताङबाट स्याउ र च्याङ्ग्रा बिक्रीका लागि बजार पठाउन समस्या भएको छ । सोह्रश्राद्धमा कागबेनीमा हिन्दू धर्मावलम्बीले पितृ तर्पण दिने गर्छन् ।
शरदयाम पर्यटकको सिजन पनि हो ।
प्रकाशित समय : १०:५२ बजे


















