गृहपृष्ठ सुडानको सुन खानी भासिँदा १० जनाको मृत्यु, २१ घाइते

सुडानको सुन खानी भासिँदा १० जनाको मृत्यु, २१ घाइते

सुडानको सुन खानी भासिँदा १० जनाको मृत्यु, २१ घाइते

उत्तरी सुडानमा एक सुन खानी भासिँदा कम्तीमा १० जनाको मृत्यु भएको र २१ जना घाइते भएको घटनामा बच्न सफल दुई व्यक्तिले आइतबार एएफपीलाई बताए । उद्धार टोलीले रातिभरि गरेको उद्धार प्रयासपछि २१ जनालाई घाइते अवस्थामा खानीबाट बाहिर निकाल्न सफल भएको छ।

सन् २०२३ अप्रिलमा सुडानको सेना र अर्धसैन्य र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीच युद्ध सुरु भएदेखि दुवै पक्षको प्रयास मुख्य रूपमा देशको अर्बौं डलरको सुन व्यापार र विदेशी समर्थकहरूबाट वित्तपोषित क्षेत्रलाई कब्जामा राख्ने रहेको छ ।

सुडानको इजिप्टसँगको सीमा नजिक अवस्थित आउनी खानी क्षेत्रका सुरुङहरू शनिबार भत्किएका थिए ।

आइतबार बिहानसम्म १० जनालाई मृत अवस्थामा निकालिएको छ र २१ घाइते खानी मजदुरहरूलाई उद्धार गरी खानी बाहिर निकालिएको छ,” खानी भत्किएको समय सुरुङमा काम गरिरहेका एक बाँचेका व्यक्तिले भने ।

उनले सुरक्षाका कारण नाम नखुलाउन अनुरोध गरे ।

अर्का एक व्यक्तिले पनि नाम नखुलाउने शर्तमा एएफपीसँग भन्नुभयो, “उद्धार कार्य ‘खानी मजदुरहरू आफैंले’ गरिरहेका छन् र उपकरणहरू निकै कम उपलब्ध छन्।”

अझै धेरै मजदुरहरू खानीको भत्किएको माटोमुनि रहेका हुनसक्ने आशङ्का गरिएको छ र बाँचेकाहरूले हराएकाहरूको खोजी जारी रहेको बताएका छन् ।

धेरै युवा सुडानीहरू खतरनाक सुनको दौडमा सामेल भएका छन्। उनीहरू अनियमित खानीहरूमा हात र साधारण औजार प्रयोग गरेर थोरै दैनिक ज्यालाका लागि काम गर्छन्।

उनीहरू रासायनिक विषाक्तता र नियमित रूपमा खानी भत्किने जोखिममा पर्छन्।

गत हप्ता दक्षिणी कोर्डोफान क्षेत्रमा खानी भत्किएर कम्तीमा ८२ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका थिए।

अनौपचारिक क्षेत्र वा बन्द भएका खानीहरूमा हुने हस्तकला र साना स्तरको खानी कार्यले सुडानमा निकालिने सुनको अधिकांश हिस्सा ओगट्छ।

सुडानी अधिकारीहरू र खानी उद्योग स्रोतहरूका अनुसार त्यहाँबाट उत्खनन हुने लगभग सबै सुन युद्धका दुवै पक्षबाट संयुक्त अरब इमिरेट्स (यूएई) मा जान्छ । यूएईले आरएसएफलाई हतियार दिने गरेको आरोप गरिने गरेको भएपनि ती रिपोर्टहरूलाई उसले अस्वीकार गर्छ ।

युद्धले करिब दुई करोड सुडानीहरूलाई गम्भीर भोकमरीमा धकेल्नु अघि नै हाते खानीले उद्योगका आँकडाअनुसार २० लाखभन्दा बढी मानिसहरूलाई रोजगारी दिएको थियो ।

अफ्रिकाको तेस्रो ठूलो देश सुडान महाद्वीपका प्रमुख सुन उत्पादकहरू मध्ये एक हो। सरकारका अनुसार गत वर्ष ७० टन सुन उत्पादन भएको थियो, जुन पछिल्लो ‘पाँच वर्षको उच्चतम’ उत्खनन् थियो ।

अधिकारीहरूका अनुसार अधिकांश सुन सुडानका सीमाहरू पार गरेर तस्करी हुन्छ । यसमा चाड, दक्षिण सुडान र इजिप्ट हुँदै विश्वको दोस्रो ठूलो सुन निर्यातकर्ता यूएई पुग्छ ।

प्रकाशित समय : २१:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु