गृहपृष्ठ सिटिजन्स बैंकले प्रस्ताव गर्यो ४ प्रतिशत लाभांश
सिटिजन्स बैंकले प्रस्ताव गर्यो ४ प्रतिशत लाभांश
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको बुधबार बसेको ५२१औं सञ्चालक समिति बैठकले चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश गरी कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
२०८३ असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँ रहेको छ। सो चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस शेयर बराबर ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ र ०.२० प्रतिशत नगद लाभांश बराबर ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ हुने बैंकले जनाएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी २०औं वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीलाई वितरण गरिनेछ।
बैंकले २०६४ वैशाख ७ गतेदेखि कारोबार सुरु गरेको थियो। सर्वसाधारणलाई शेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै शेयरधनीलाई निरन्तर लाभांश वितरण गर्दै आएको बैंकको भनाइ छ।
बैंकका अनुसार पछिल्लो २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ। प्रस्तावित लाभांशलाई समेत समेट्दा पछिल्लो १० वर्षको औसत लाभांश दर ९.२४ प्रतिशत पुग्नेछ।
सिटिजन्स बैंकले हाल विभिन्न डिजिटल तथा लक्षित बैंकिङ सेवा पनि सञ्चालन गर्दै आएको छ। बैंकले फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। त्यस्तै, युवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ।
बैंकले मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सी–आस्बा (C-ASBA) सम्बन्धी सेवा लिन सकिने सुविधा पनि प्रदान गर्दै आएको जनाएको छ। यसैगरी, अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट क्यूआरमार्फत नगद झिक्न सक्ने क्रस बैंक टेलर सुविधा सञ्चालनमा रहेको छ।
बैंकका अनुसार हाल ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित समय : ०६:४६ बजे


















