गृहपृष्ठ सिद्धार्थ बैंकले ल्यायो एनपीएल लक्षित क्रेडिट कार्ड र बचत खाता योजना
सिद्धार्थ बैंकले ल्यायो एनपीएल लक्षित क्रेडिट कार्ड र बचत खाता योजना
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लक्षित गर्दै सिद्धार्थ बैंकले नयाँ ग्राहकका लागि विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ।
एनपीएलको टाइटल स्पोन्सरका रूपमा आबद्ध बैंकले ‘सिद्धार्थ एनपीएल क्रेडिट कार्ड’ र ‘सिद्धार्थ एनपीएल बचत खाता’ सार्वजनिक गरेको हो। बैंकका अनुसार यी योजनामार्फत ग्राहकले कार्ड तथा बैंकिङ सेवासँगै एनपीएलसँग सम्बन्धित विभिन्न सुविधा र अनुभवसमेत प्राप्त गर्न सक्नेछन्।
सिद्धार्थ एनपीएल क्रेडिट कार्डअन्तर्गत २०८३ असोज १ देखि मंसिर २९ गतेसम्म आवेदन दिने ग्राहकले आजीवन निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन्। कार्ड जारी गर्दा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट हुनेछ।
दोस्रो वर्षदेखि भने अघिल्लो वर्ष कम्तीमा तीनवटा क्रेडिट कार्ड कारोबार गर्ने ग्राहकको वार्षिक शुल्क फिर्ता गरिने बैंकले जनाएको छ। यो सुविधा प्रत्येक वर्ष ग्राहकले तोकिएको न्यूनतम कारोबार पूरा गरे–नगरेको आधारमा मूल्यांकन हुनेछ। कुनै वर्ष न्यूनतम कारोबार पूरा नभए उक्त वर्ष शुल्क फिर्ता नहुने भए पनि अर्को वर्ष पुनः मापदण्ड पूरा गरेमा सुविधा लिन सकिनेछ।
त्यस्तै, बैंकले सिद्धार्थ एनपीएल बचत खाता पनि सार्वजनिक गरेको छ। यो खाता खोल्ने ग्राहकले एनपीएलको विशेष डिजाइनमा तयार गरिएको डेबिट कार्ड प्राप्त गर्नेछन्। साथै, खाता खोल्दा सुरुवाती सुविधाका रूपमा ५०० सिद्धार्थ रिवार्ड पोइन्ट प्रदान गरिने बैंकले जनाएको छ।
सिद्धार्थ एनपीएल डेबिट कार्ड र सिद्धार्थ एनपीएल बचत खाता दुवैको सदस्यता लिने ग्राहकले प्रारम्भिक सदस्यताका लागि एकमुष्ट ५०० रुपैयाँ वार्षिक शुल्क तिरेर बन्डल प्याकेजका रूपमा सेवा लिन सक्नेछन्।
बैंकले असोज १ देखि कात्तिक ३० गतेसम्म अभियानसमेत सञ्चालन गर्ने जनाएको छ। अभियान अवधिमा रिवार्ड पोइन्टका आधारमा ग्राहकलाई एनपीएलसँग जोडिएका विभिन्न अवसर प्रदान गरिनेछ।
अभियान अवधिमा सबैभन्दा बढी रिवार्ड पोइन्ट कमाउने शीर्ष २० ग्राहकले विशेष सिद्धार्थ एनपीएल टि–सर्ट पाउनेछन्। सबैभन्दा बढी रिवार्ड पोइन्ट कमाउने एक जना ग्राहकले एनपीएलको भिडियोमा फिचर हुने अवसरसमेत पाउने बैंकले जनाएको छ।
त्यसैगरी, अभियान अवधिमा सबैभन्दा बढी रिवार्ड पोइन्ट रिडेम्पसन ट्रान्जेक्सन पूरा गर्ने शीर्ष पाँच ग्राहकले दुई–दुई वटा एनपीएल टिकट जित्नेछन्।
सबैभन्दा उच्च ‘रिवार्ड च्याम्पियन स्कोर’ हासिल गर्ने एक जना ग्राहकले एनपीएलको सेमिफाइनल खेलमा ‘प्लेयर अफ द म्याच’ पुरस्कार प्रस्तुत गर्ने अवसर पाउनेछन्।
बैंकका अनुसार रिवार्ड च्याम्पियन स्कोर भन्नाले अभियान अवधिमा आर्जन गरिएको कुल रिवार्ड पोइन्ट र रिडिम गरिएको कुल रिवार्ड पोइन्टको योगफललाई जनाउँछ।
योजनासम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
प्रकाशित समय : ०६:४० बजे


















