गृहपृष्ठ नेपाल ल्युब आयलले १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद लाभांश दिने

नेपाल ल्युब आयलले १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद लाभांश दिने

नेपाल ल्युब आयलले १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ६.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज १९ गते ३५औँ वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीको ३९१औँ सञ्चालक समिति बैठकले असोज १९ गते सोमबार बिहान ११ः३० बजे ललितपुरको पुल्चोकस्थित द प्लाजामा साधारण सभा गर्ने निर्णय गरेको हो।

कम्पनीले प्रस्ताव गरेको बोनस र नगदसहित कुल २१.०५२६४ प्रतिशत लाभांश वितरण हुनेछ। प्रस्तावित नगद लाभांश रकम ५२ लाख ९२ हजार १३८ रुपैयाँ ८६ पैसा रहेको छ। कम्पनीका अनुसार नगद लाभांशबाट दुवै प्रकारका लाभांशको कर कट्टी गरिनेछ र कर कट्टीपछि बाँकी रकम शेयरधनीलाई वितरण गरिनेछ।

हकप्रदको आधारमा पनि परिवर्तन

नेपाल ल्युब आयलले प्रस्ताव गरेको लाभांशसँगै हकप्रद शेयर निष्कासनको आधारमा पनि परिवर्तन गर्ने तयारी गरेको छ।

कम्पनीले यसअघि १ः२ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो। उक्त निवेदनमा उल्लेख भएको १४ लाख ५७ हजार २५३ दशमलव ६० कित्ता शेयरमा मात्र हकप्रद शेयर निष्कासन लागू हुने गरी प्रस्ताव सभामा लैजाने भएको छ।

आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को साधारण सभाबाट स्वीकृत तथा वितरण भएका थप बोनस शेयरलाई पनि यही १४ लाख ५७ हजार २५३ दशमलव ६० कित्ताभित्र सीमित गरी दामासाहीका आधारमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सभामा पेस हुनेछ।

यस प्रस्ताव पारित भएमा बोनस शेयरका कारण बढेको चुक्ता पुँजीलाई आधार बनाएर हकप्रदको आकार स्वतः बढ्नेभन्दा बोर्डमा यसअघि पेस गरिएको शेयर संख्याभित्रै हकप्रद सीमित हुनेछ।

प्रकाशित समय : ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु