गृहपृष्ठ जाजरकोट भूकम्पबाट क्षति भएका विद्यालय र स्वास्थ्य संस्थाका भवन निर्माणमा तीव्रता
जाजरकोट भूकम्पबाट क्षति भएका विद्यालय र स्वास्थ्य संस्थाका भवन निर्माणमा तीव्रता
सुर्खेत । २०८० कात्तिक १७ गते जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका स्थित रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको झण्डै तीन वर्षपछि कर्णाली प्रदेश सरकारले जाजरकोट, रुकुम पश्चिम र सल्यानमा भौतिक संरचना निर्माण गरेको छ ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्र्तगतका पूर्वाधार विकास कार्यालयहरुमार्फत तीन जिल्लाका ६७ ओटा विद्यालय भवन निर्माण सम्पन्न भएको मन्त्रालयका सिडिई प्रेम वलीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा जाजरकोटमा ५२ ओटा विद्यालय भवन निर्माण गर्ने भनिएपनि ३३ ओटा भवन निर्माण सम्पन्न भएका छन् ।
रुकुम पश्चिममा ४३ ओटा विद्यालय भवन निर्माण गर्ने लक्ष्य रहेकोमा २७ ओटा विद्यालय भवन निर्माण सम्पन्न भएका छन भने सल्यानमा ४ ओटा विद्यालय भवन निर्माण सम्पन्न भउका छन् । भूकम्पबाट ९९ ओटा विद्यालय भवन क्षति भएकामा ६७ ओटा भवन निर्माण पुरा भएका छन् भने ३२ वटा भवन निर्माण सम्पन्न हुन बाँकी रहेका छन् ।
यस्तै, भूकम्पबाट क्षति भएका स्वास्थ्य संस्था पनि निर्माण सम्पन्न भएका छन् । जाजरकोटमा १५ भवन क्षति भएकामा ७ ओटा निर्माण सम्पन्न भएका छन् । रुकुम पश्चिममा १० ओटा भवन क्षति भएकोमा पाच् ओटा र सल्यानमा दुईवटा भवन निर्माण पूरा भएका छन् ।
यातायात कार्यालयबाट ३५ करोड राजश्व संकलन
यातायात कार्यालयबाट कर्णाली प्रदेशमा ३५ करोड ८ लाख ४३ हजार रुपैंया संकलन भएको छ । कर्णाली प्रदेशमा तीन ओटा यातायात कार्यालय रहेका छन् । सबैभन्दा बढी राजश्व सुर्खेतमा संकलन भएको छ । सुर्खेतमा २९ करोड ५६ लाख ९ हजार संकलन हुँदा जुम्लामा एक करोड ९४ लाख ४२ हजार र रुकुम पश्चिममा ३ करोड ५७ लाख ९१ हजार राजश्व संकलन भएको हो ।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्काले भूकम्पबाट षति भएका संरचना निर्माणमा सरकारले तीव्रता दिएको बताइन् । ‘भूकम्पबाट क्षति भएका विद्यालय र स्वास्थ्य संस्था निर्माणमा तीव्रता दिइरहेका छौँ । अधिकांश सम्पन्न भइसकेका छन् भने बाँकी संरचना निर्माणकै क्रममा छन्,’ उनले भनिन ।
प्रकाशित समय : ११:१८ बजे


















