गृहपृष्ठ सूर्यविनायक गणेश चतुर्थी जात्राको तयारी पूरा

सूर्यविनायक गणेश चतुर्थी जात्राको तयारी पूरा

सूर्यविनायक गणेश चतुर्थी जात्राको तयारी पूरा
भक्तपुर । सूर्यबिनायक मन्दिर, भक्तपुरमा यस वर्षको गणेश चतुर्थी पर्व हर्षोल्लासका साथ मनाउन तयारी पूरा भएको छ ।
रफत सञ्चार क्लबमा आज आयोजित पत्रकार भेटघाटमा सूर्यविनायक क्षेत्र प्रबन्ध समिति र सूर्यविनायक युवा क्लबका प्रतिनिधिले जात्राको तयारी पूरा भएको जनाएका हुन् । गणेश चतुर्थीका अवसरमा रथयात्रासहित सिन्दुर जात्रा गर्ने तयारी गरिएको हो ।
सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले संस्कृति, परम्परा, आस्था र एकताको उत्सवका रूपमा गणेश चतुर्थीलाई भव्य र सभ्य रूपमा मनाउने तयारी गरिएको बताए ।
उनका अनुसार गणेश जात्राका अवसरमा रथ यात्रासहित सिन्दुर जात्रा गरिनेछ । आस्थाको धरोहरका रूपमा रहेको जात्रा सूर्यविनायक गणेश मन्दिरबाट सुरु गरी भक्तपुरका वडा नं ६ र ८ को परिक्रमा गराउँदै सूर्यविनायक चोकसम्म पु-याइनेछ ।
त्यसपछि पुनःमन्दिरमा लगिने बस्नेतले बताए । जात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सूर्यविनायक तीनधारा खानेपानी सरसफाइ उपभोक्ता समिति, ढलचा गुठी, मूल पुजारी ईश्वरीप्रसाद भट्टराई तथा विभिन्न धिमेबाजा समूहको सक्रिय सहभागिता रहने बस्नेतले जानकारी गराए ।
विसं २०७८ देखि भव्य रूपमा मनाउँदै आएको यस जात्राको संरक्षण र प्रवर्द्धनमा स्थानीय तह तथा स्थानीयवासीले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको छ ।
प्रबन्ध समितिका उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिका वडा नं ६ का वडाध्यक्ष ईश्वर खड्काले जात्रा तथा पर्व सञ्चालनमा स्थानीय तहको सदैव सहयोग र रचनात्मक भूमिका रहेको बताए ।
जात्रा सञ्चालन सहज बनाउन वडा नं ६ र ८ बाट तीन–तीन लाख रुपैयाँ बजेटसमेत विनियोजन गरिएको उहाले जानकारी दिए। खड्काले गणेश चतुर्थीलाई पर्वकै रूपमा मनाउन थालिएसँगै हरेक वर्ष सूर्यविनायक मन्दिर क्षेत्रसँगै वडा नं ६ र ८ मा सीमित नरही यो पर्व देशैभरको पर्वका रूपमा स्थापित हुँदै गएको बताए ।
सूर्यविनायक युवा क्लबका अध्यक्ष दीप गिरीले हरेक क्षेत्रका तह र तप्काबाट सहयोग मिलेकाले जात्रा सहज रूपमा सञ्चालन गर्न सबै सरोकारवाला क्षेत्रको सहयोग रहने विश्वास व्यक्त गरे । जात्रा सञ्चालनका लागि विभिन्न समिति गठन गरिएको छ । गिरीले भने । सूर्यविनायकको गणेश मन्दिर भक्तजनको आस्था र धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा परिचित छ ।

प्रकाशित समय : १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु