गृहपृष्ठ अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्याङ्कर ध्वस्त

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्याङ्कर ध्वस्त

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्याङ्कर ध्वस्त

अमेरिका र इरानबीच छ महिनाभन्दा लामो समयदेखि जारी युद्धमा तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाले मंगलबार आफ्ना युद्धपोतमाथि भएको पछिल्लो क्षेप्यास्त्र आक्रमणको जवाफमा इरानका थप पाँचवटा तेल ट्यांकर ध्वस्त पारेको जनाएको छ ।

अमेरिकी कारबाहीपछि इरानले पनि जोर्डनमा रहेका अमेरिकी लक्ष्यतर्फ क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

जोर्डनको सेनाका अनुसार उसको हवाई प्रतिरक्षा प्रणालीले आफ्नो भूमितर्फ प्रहार गरिएका १८ वटा ब्यालेस्टिक क्षेप्यास्त्र आकाशमै रोकेको थियो । थप दुईवटा क्षेप्यास्त्र भने मानव बस्ती नभएका क्षेत्रमा खसेका थिए । घटनामा मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको जोर्डनले जनाएको छ ।

अमेरिकाको निकट सहयोगी जोर्डनमा अमेरिकी सेनाको उपस्थिति रहेकाले त्यहाँका सैन्य अखडाहरू यसअघि पनि इरानी आक्रमणको निशानामा पर्दै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने प्रयास गरिरहेकै बेला पछिल्ला आक्रमण भएका हुन् । ट्रम्प प्रशासनले मंगलबार इरानको हवाई क्षेत्रमा थप प्रतिबन्धसमेत लगाएको छ । इरानलाई बाँकी रहेका व्यापारिक साझेदारबाट अलग पार्ने प्रयासस्वरूप दुई दर्जनभन्दा बढी व्यावसायिक तथा निजी विमान सेवा र विदेशी मालवाहक सेवा प्रदायकलाई लक्षित गरिएको जनाइएको छ ।

अमेरिका र इरानबीचको संघर्षमा होर्मुज जलडमरूमध्य पनि महत्वपूर्ण क्षेत्र बनेको छ । युद्ध सुरु हुनुअघि विश्वमा खपत हुने कुल तेलमध्ये करिब पाँच भागको एक भाग यही मार्ग हुँदै ओसारपसार हुने गरेको थियो ।

यस क्षेत्रमा जारी तनावका कारण विश्व बजारमा ऊर्जा मूल्य बढिरहेको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य केही समयका लागि प्रतिब्यारेल ९९.४६ अमेरिकी डलरसम्म पुगेको थियो ।

यसअघि शनिबार पनि अमेरिकी सेनाले इरानका तीनवटा तेल ट्यांकर ध्वस्त पारेको थियो । इरानको इस्लामिक क्रान्तिकारी सुरक्षा बलले अमेरिकी विमानवाहक युद्धपोत र विध्वंसक युद्धपोतलाई ब्यालेस्टिक क्षेप्यास्त्रमार्फत आक्रमण गर्ने प्रयास गरेपछि अमेरिकी सेनाले यस्तो कारबाही गरेको बताएको थियो ।

त्यसपछि इरानले होर्मुज जलडमरूमध्य नजिकबाट आवतजावत गर्ने निश्चित जहाजलाई लक्षित गर्दै नयाँ निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको जनाएको थियो ।

लगातारका आक्रमण र जवाफी कारबाहीले अमेरिका–इरान युद्ध थप गहिरिँदै जाने तथा यसको असर विश्व ऊर्जा बजारमा समेत पर्न सक्ने चिन्ता बढेको छ ।

प्रकाशित समय : १२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु