गृहपृष्ठ विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौँ

विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौँ

विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौँ

भाद्र १७ गते संसद्मा देखिएको दृश्यले मन भारी बनायो । देशका नागरिक विपत्तिको पीडामा छन् । कतै घर उजाडिएका छन्, कतै परिवार विखण्डित भएका छन्, कतै आफन्त गुमाएका छन्, कतै जीवनभरको सम्पत्ति आँखैअगाडि माटोमा पुरिएको छ । यस्तो विषम घडीमा संसद् जनताको पीडा, आशा र भरोसाको आवाज बन्नुपर्ने थियो ।

तर कतिपय अभिव्यक्तिमा जनताको आँसुभन्दा राजनीतिक आरोप–प्रत्यारोप, एकअर्कालाई कठघरामा उभ्याउने प्रयास र राजनीतिक लाभ खोज्ने प्रवृत्ति बढी मुखरित भएको अनुभूति भयो ।

सरकारलाई प्रश्न गर्नु लोकतन्त्रको धर्म हो । कमजोरी औँल्याउनु प्रतिपक्षको अधिकार हो । लापरबाही भए छानबिन हुनुपर्छ र दोष प्रमाणित भए जिम्मेवारी निर्धारण हुनुपर्छ । तर जनताको घाउमा मल्हम लाग्न नपाउँदै त्यही घाउलाई राजनीतिक लाभको विषय बनाउनु उचित हुँदैन । विपत्ति राजनीतिक अंकगणित होइन, राष्ट्रिय चरित्र, मानवीय संवेदना र नेतृत्व क्षमताको परीक्षा हो ।

एकपटक पीडितको आँखाबाट हेरौँ

ती बालबालिकालाई सम्झौँ, जसले विपत्तिमा आमाबुबा वा अभिभावक गुमाएका छन् । ती परिवारलाई सम्झौँ, जहाँ मुख्य कमाउने व्यक्ति गुमेपछि भोलिको चुलो कसरी बल्छ भन्ने प्रश्न उभिएको छ । ती गाउँलाई सम्झौँ, जहाँ घर, खेतबारी, पशुधन, सम्पत्ति र आफन्त गुमाएर मानिसहरू आज आकाशतिर हेर्दै छन् ।

उनीहरूलाई राजनीतिक कटाक्ष होइन, राज्यको भरोसा चाहिएको छ—‘तिमी एक्ला छैनौ, राष्ट्र तिम्रो साथमा छ ।’ त्यसैले यस्तो समयमा कटाक्ष होइन करुणा, आरोप होइन दायित्व, राजनीतिक प्रदर्शन होइन राष्ट्रिय एकता र भाषण होइन कार्ययोजना चाहिएको छ ।

विगतको ऐना पनि हेरौँ

आज सरकारमाथि प्रश्न उठाउनु स्वाभाविक हो । तर राजनीति वर्तमानमाथि औँला उठाउने मात्र होइन, आफ्नो विगतप्रति पनि इमानदार हुने संस्कार हो ।

प्रचण्डजी धेरैपटक प्रधानमन्त्री हुनुभयो । एमाले र कांग्रेस नेतृत्वका सरकारहरूले पनि विभिन्न संकट र विपत्तिको सामना गरेका छन्। कहाँ सफलता मिल्यो, कहाँ कमजोरी रह्यो—इतिहासले त्यसको मूल्याङ्कन गर्नेछ । नेपालको इतिहास कुनै एउटा दलको होइन, समग्र राष्ट्रको साझा इतिहास हो।

त्यसैले आजको प्रश्न—‘कसले के गरेन ?’ होइन, ‘अहिले म के गर्न सक्छु ?’ हुनुपर्छ। यो आफ्नो क्षमता, योग्यता, कौशल र जिम्मेवारी प्रमाणित गर्ने समय हो ।

विपत्ति बाजा बजाएर आउँदैन

प्राकृतिक विपत्ति निमन्त्रणा लिएर आउँदैन । क्षणभरमै एउटा परिवार, एउटा बस्ती र कहिलेकाहीँ सिंगो समुदायको जीवन उजाडिदिन्छ । हराभरा बस्तीलाई शोकको सन्नाटामा बदलिदिन्छ, पुस्तौँदेखिको थातथलो मेटाइदिन सक्छ ।

प्रकृतिको रौद्र रूपका अगाडि मानव सामथ्र्य सीमित छ । त्यसैले प्रकृतिलाई चुनौती दिने होइन, सम्भावित क्षति न्यूनीकरण गर्ने, पूर्वतयारी गर्ने र नागरिकलाई सुरक्षित राख्ने प्रणाली निर्माण गर्ने हो । विपत्ति आएपछि मात्र दौडिने होइन, विपत्ति आउनुअघि नै तयार हुने संस्कार र प्रणाली विकास गर्नुपर्छ ।

अब मुख्य माग : तत्काल काम र दीर्घकालीन तयारी

१. उद्धार र जीवनरक्षा ः जोखिममा रहेका नागरिकको तत्काल उद्धार, उपचार, खाद्यान्न, पानी, आश्रय र आवश्यक मानवीय सहयोग सुनिश्चित गरियोस् ।

२. पीडितको संरक्षण ः घरबारविहीन तथा आफन्त गुमाएका परिवारलाई सुरक्षित आश्रय, स्वास्थ्य सेवा, बालबालिकाको संरक्षण तथा आवश्यक मनोसामाजिक सहयोग दिइयोस् ।

३. राहतमा पारदर्शिताः प्राप्त राहत तथा सहयोगको विवरण सार्वजनिक गरी वास्तविक पीडितसम्म निष्पक्ष रूपमा पु-इयोस् ।

४. एकीकृत परिचालनः केन्द्रदेखि स्थानीय तहसम्म राज्यका सबै संयन्त्र, दक्ष जनशक्ति र आवश्यक उपकरण प्रभावकारी रूपमा परिचालन गरियोस्।

दीर्घकालीन

१. पूर्वतयारी र जोखिम न्यूनीकरणः जोखिमयुक्त क्षेत्रको वैज्ञानिक पहिचान, प्रभावकारी पूर्वसूचना, नियमित अभ्यास र सक्षम विपद् व्यवस्थापन प्रणाली विकास गरियोस् ।

२. सुरक्षित बस्ती र पुनर्वासः जोखिमयुक्त बस्तीको वैज्ञानिक व्यवस्थापन गरी आवश्यक स्थानमा सुरक्षित स्थानान्तरण तथा विस्थापित परिवारको आवास, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनसहित सम्मानजनक पुनर्वास गरियोस् ।

३. सुरक्षित पुनर्निर्माणः पुनर्निर्माण ‘पहिलेजस्तै’ होइन, ‘पहिलाभन्दा सुरक्षित’ हुने गरी वैज्ञानिक र दिगो बनाइयोस्।

४. साझा राष्ट्रिय नीतिः विपद् व्यवस्थापनलाई दलगत राजनीति र सरकार परिवर्तनभन्दा माथि राखी सबै दल, विज्ञ, सुरक्षा निकाय, स्थानीय तह र नागरिक समाजको सहभागितामा दीर्घकालीन राष्ट्रिय नीति बनाइयोस्। विगतका कमजोरीको निष्पक्ष समीक्षा गरी आवश्यक जिम्मेवारी निर्धारण गरियोस्।

यो कुनै एक व्यक्तिको समस्या होइन यो प्रधानमन्त्रीको मात्र समस्या होइन। गृहमन्त्रीको मात्र समस्या होइन । सरकार वा प्रतिपक्षको मात्र समस्या होइन। यो राष्ट्रको समस्या हो।

दुःखको कुनै पार्टी हुँदैन । आँसुको कुनै विचारधारा हुँदैन। विपत्तिले नागरिकको राजनीतिक परिचय सोध्दैन । आज कसैको घर उजाडिएको छ भने त्यो घर नेपालकै हो। कसैको आँसु झरेको छ भने त्यो आँसु नेपालीकै हो। त्यसलाई उठाउने दायित्व पनि हामी सबैको हो ।

नागरिकलाई आह्वान

अब आउनुहोस्, असल नेपाली बनौँ—जिम्मेवार नागरिक बनौँ। विपत्तिको यो घडीमा अरूलाई दोष दिनुभन्दा पहिले आफूले के गर्न सक्छौँ, त्यो गरौँ । अपुष्ट सूचना र अफवाह नफैलाऔँ। पीडितको संवेदनशीलता बुझौँ। उनीहरूको घाउमा नुन होइन, मल्हम लगाऔँ ।

हृदय उदार बनाऔँ, सहयोगी हात बढाऔँ र सक्ने सहयोग लिएर जुटौँ। रक्तदान गरौँ, राहतमा सहभागी बनौँ, उद्धारमा स्वयंसेवक बनौँ र आवश्यकतामा परेका परिवारको हात समाऔँ।

सरकारसँग प्रश्न गरौँ, तर प्रश्नसँगै समाधान र जवाफदेहिता पनि मागौँ ।

‘दोष खोज्ने होइन, समाधान खोज्ने नागरिक बनौँ।

पीडा हेर्ने होइन, पीडा घटाउने हात बनौँ।

आलोचना मात्र होइन, सहयोग पनि गरौँ।

हृदय साँघुरो होइन, उदार बनाऔँ।

विभाजित होइन, एकताबद्ध नेपाली बनौँ।’

अन्तिम कुरा

विपत्तिमा जिम्मेवारी कसको थियो भन्ने प्रश्नको उत्तर तथ्य, छानबिन र इतिहासले दिनेछ। कमजोरी भए सुधार हुनुपर्छ, लापरबाही भए जिम्मेवारी निर्धारण हुनुपर्छ ।

तर अहिलेको पहिलो प्रश्न ‘दोषी को हो?’ होइन,‘देशलाई कसरी सुरक्षित रूपमा यस विपत्तिबाट बाहिर निकाल्ने ?’ हो।

प्रकृतिले दिएको चेतावनीलाई राजनीतिक नारामा होइन, राष्ट्रिय नीतिमा रूपान्तरण गरौँ। आजको पीडाबाट पाठ सिकेर भोलिको नेपाललाई अझ सुरक्षित, सक्षम र आत्मनिर्भर बनाऔँ।

विपत्तिमा राजनीति होइन—उदार नीति प्रदर्शन गरौँ। ‘जनताको आँसुमा राजनीति खोज्ने होइन, त्यही आँसु पुछ्ने सामथ्र्य भएको राजनीति नै सच्चा राजनीति हो ।’

‘राष्ट्र पहिले। मानवता पहिले। जिम्मेवारी पहिले। हामी सबै सँगै ’

प्रकाशित समय : ०९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु