गृहपृष्ठ हिमालयन बुलियनद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
हिमालयन बुलियनद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हिमालयन बुलियन कम्पनी लिमिटेडले १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीले तत्काल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ जम्मा गरिसकेको जनाएको छ। थप ८० लाख रुपैयाँ सहयोगसहित कम्पनीले कुल १ करोड १ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको हो।
कम्पनीले बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
कम्पनीका प्रतिनिधिहरू राकेश कुमार अडकिया, रोहन अडकिया, भीष्मप्रसाद गौतम, जीवन घिमिरे र राजेन्द्र न्यौपानेले भदौ १२ गते अर्थ मन्त्रालय पुगेर सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
कम्पनीले विपद्को यस घडीमा प्रभावित नागरिकको खोज, उद्धार र तत्काल राहतमा सहयोग गर्नु आफ्नो मानवीय दायित्व भएको जनाएको छ।
प्रकाशित समय : १४:५५ बजे

















