गृहपृष्ठ कुमारी बैंकको मोबाइल बैंकिङ एपमा ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ सुविधा
कुमारी बैंकको मोबाइल बैंकिङ एपमा ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ सुविधा
कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ सुविधा सञ्चालनमा ल्याएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान/भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
यस सुविधाअन्तर्गत कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन्। ग्राहकले मोबाइल बैंकिङ एपको आईआरडी प्रोत्साहन कार्यक्रम मेनुबाट योग्य कारोबारको संख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्तिको अवस्था हेर्न सक्नेछन्।
आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्येबाट दैनिक लक्की ड्रमार्फत एक जनाले कर कट्टीपश्चात १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले रु. १० लाख बराबरको बम्पर पुरस्कार प्राप्त गर्नेछन्।
कुमारी बैंकले ग्राहकलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान/भ्याट बिल लिन तथा बिल सुरक्षित राख्न आग्रह गरेको छ। बैंकले यस अभियानले डिजिटल कारोबार विस्तारसँगै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि र वित्तीय पारदर्शिता सुदृढ गर्न योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकका देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइ सञ्चालनमा छन्।
प्रकाशित समय : १२:०४ बजे


















