हरियाली प्रवर्द्धनः छयसट्ठी दशमलव पाँच हेक्टरमा वृक्षरोपण
वि.सं.२०८३ साउन २२ शुक्रवार १२:३५
shares

जनकपुरधाम। डिभिजन वन कार्यालय धनुषाले आर्थिक वर्ष २०८२र८३ मा हरियाली प्रवर्द्धनअन्तर्गत ६६ दशमलव पाँच हेक्टर क्षेत्रमा वृक्षरोपण गरेको छ ।
कार्यालय प्रमुख विनोद सिंहका अनुसार गत आर्थिक वर्षमा बिरुवा उत्पादन तथा वृक्षरोपण कार्यक्रममार्फत हरियाली विस्तार, वातावरण संरक्षण र जैविक विविधता संरक्षणमा उल्लेखनीय योगदान पुगेको छ ।
त्यस क्रममा स्थानीय कालिखोला, दूधपानी र सुनबेरी सामुदायिक वन क्षेत्रमा १२ हजार बाँसका बिरुवा रोपेको छ भने केशर दमर सामुदायिक वनमा पाँच सय फलफूलजन्यसहित आठ हजार र बिरुवा रोपिएको छ ।
धनुषाधाम वन संरक्षण क्षेत्रमा पनि तीन हजार चार सय फलफूलजन्यसहित १३ हजार बिरुवा रोपिएको छ । कमला नगरपालिकास्थित सार्वजनिक जग्गामा नौ हजार छ सय तथा मुगिया हरियाली सामुदायिक वनमा १६ हजार बिरुवा रोपिएको कार्यालयले जनाएको छ ।
यसैबीच, वर्षौंदेखि खाली रहेको लक्ष्मीनियाँ गाउँपालिकाको जग्गामा चार हजार १४५ बिरुवा, जलाइद साझेदारी वनमा पाँच हजार बिरुवा रोपिएको छ । त्यस क्षेत्रमा चार हजार १४५ फलफूलजन्य बिरुवा पनि रोपिएको प्रमुख सिंहले जानकारी दिए ।
जिल्लाका १७ किलोमिटर सडक किनारमा तीन हजार ४०९ वृक्षरोपण गरिएको छ भने निजी क्षेत्र तथा विभिन्न सङ्घसंस्थालाई एक लाख ५० हजार बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ ।
वन क्षेत्र अतिक्रमण हटाउने अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा वन क्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएका घर, टहरा तथा अन्य संरचना हटाएर करिब १० कट्ठा वन क्षेत्र अतिक्रमणमुक्त गरिएको छ । धनुषाधाम वन संरक्षण क्षेत्रभित्र निर्माण गरिएका पसल तथा होटल हटाएर करिब तीन–चार कट्ठा जग्गा खाली गराइएको पनि कार्यालयले जनाएको छ ।
मालटोल सामुदायिक वन क्षेत्रमा सञ्चालन हुँदै आएको होटल हटाइएको तथा पोखरी दमार सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको घर भत्काएर अतिक्रमित जग्गा खाली गराइएको छ ।
वन क्षेत्र विस्तारले जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन कायम, भूक्षय नियन्त्रण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा सकारात्मक प्रभाव परेको कार्यालयको भनाइ छ ।
आर्थिक वर्ष २०८२र८३ मा वन संरक्षण तथा जैविक विविधता प्रवर्द्धनका लागि जिल्लामा ४७ वटा वनमा आधारित उद्यम सञ्चालन गरिएको छ । हरित पार्क प्रवर्द्धन कार्यक्रमअन्तर्गत जनकपुर उपमहानगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, मिथिला बिहारी नगरपालिका र मिथिला नगरपालिकामा १० वटा हरित पार्क निर्माण गरिएको प्रमुख सिंहले जानकारी दिए ।
कार्यालयले गत आर्थिक वर्षमा रोयल्टी, मूल्य अभिवृद्धि कर तथा अन्य शीर्षकबाट कूल ४६ लाख ६९५ राजस्व सङ्कलन गरेको छ । यसमध्ये निजी वन क्षेत्रबाट ३९ लाख ६० हजार ४१६, सामुदायिक वन क्षेत्रबाट रोयल्टीतर्फ तीन लाख सात हजार ६१२ तथा मूल्य अभिवृद्धि करतर्फ एक लाख ३० हजार ८३६ सङ्कलन भएको छ ।
गत आर्थिक वर्ष २०८२र८३ मा अवैध वन पैदावार ओसारपसार तथा हानि–नोक्सानीसम्बन्धी चार वटा मुद्दा दर्ता भई कारबाही प्रक्रिया अघि बढाइएको थियो ।
सो क्रममा १९ दशमलव २५ घनमिटर साल जातको काठ समेत बरामद गरिएको प्रमुख सिंहले बताए । कार्यालयका अनुसार पाँच वटा सामुदायिक वनअन्तर्गत सात हजार ६२३ दशमलव ७२ घनफिट काठ सङ्कलनका लागि सहमति प्रदान गरिएको थियो । त्यसमध्ये निजी वनबाट दुई लाख ५१ हजार ६२२ दशमलव ३२ घनफिट तथा सामुदायिक वनबाट सात दशमलव ३८ चट्टा दाउरा उत्पादन गर्न अनुमति थियो ।
जिल्लाभित्र घरकाज तथा विपद् व्यवस्थापनका लागि १५२ दशमलव ३८ घनफिट काठ उपलब्ध गराइएको कार्यालयले जनाएको छ । त्यसमध्ये ३१ दशमलव १६ घनफिट घरकाजका लागि र १२१ दशमलव २२ घनफिट आगलागी पीडितका लागि वितरण गरिएको कार्यालय प्रमुख सिंहले जानकारी दिए ।
कार्यालयले आगामी वर्ष वन संरक्षणसँगै स्थानीय समुदायको आयआर्जन तथा हरियाली विस्तारलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

























