गृहपृष्ठ ‘भोपास दुर्घटनामा १६ जनाविरुद्ध अभियोग
‘भोपास दुर्घटनामा १६ जनाविरुद्ध अभियोग
ब्राजिलको सङ्घीय प्रहरीले सन् २०२४ मा ६२ जनाको ज्यान गएको भोपास विमान दुर्घटनामा एयरलाइनका मालिकसहित १६ जना वर्तमान तथा पूर्व कर्मचारीविरुद्ध औपचारिक अभियोग दर्ता गरेको छ । दुई वर्ष लामो अनुसन्धानपछि प्रहरीले व्यवस्थापकीय लापरवाही, मर्मतसम्बन्धी कमजोरी, प्रमाण लुकाउने प्रयास र सुरक्षा मापदण्ड उल्लङ्घनले दुर्घटना निम्तिएको निष्कर्ष सार्वजनिक गरेको हो ।
अभियुक्तमध्ये भोपासका मालिक तथा अध्यक्ष जोसे लुइज फेलिसियो फिल्हो पनि छन् । अब स्थानीय सरकारी वकिलहरूले उनिहरूविरुद्ध औपचारिक मुद्दा चलाउने वा नचलाउने निर्णय गर्नेछन् ।
सङ्घीय प्रहरीले १५ जना वर्तमान तथा पूर्व कर्मचारीमाथि हवाई यातायात सुरक्षालाई जोखिममा पारेको आरोप लगाएको छ । दोषी ठहरिए उनीहरूलाई १२ वर्षसम्म कैद सजाय हुनसक्ने जनाइएको छ । केही अभियुक्तमाथि विमानको लगबुकबाट प्राविधिक खराबीसम्बन्धी विवरण हटाएको थप आरोप पनि लगाइएको छ ।
यो दुर्घटना सन् २०२४ अगस्ट ९ मा भएको थियो । पाराना राज्यको क्यास्कावेलबाट ग्वारुल्होस अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उडिरहेको एटीआर–७२–५०० टर्बोप्रप विमान साओ पाउलो नजिकैको भिन्हेडो नगरमा खस्दा विमानमा सवार सबै ६२ जनाको मृत्यु भएको थियो ।
अनुसन्धानका क्रममा विमानको डाटा रेकर्डरबाट डि–आइसिङ प्रणाली १३६ वटा उडानमा पटक–पटक असफल भएको वा म्यानुअल रूपमा सञ्चालन गरिएको तथ्य फेला परेको प्रहरीले जनाएको छ । अनुसन्धानकर्ता आन्द्रे रिबेरोका अनुसार दुर्घटनाकै दिन पनि अघिल्ला तीन उडानमा यही प्रणालीमा समस्या देखिए पनि विमानलाई गम्भीर हिमपातको जोखिमयुक्त मौसममा उड्न अनुमति दिइएको थियो ।
उनले यो घटनाले ब्राजिलको हवाई सुरक्षा प्रणालीमा गम्भीर प्रश्न उठाएको बताउँदै नागरिक उड्डयन नियामक एएनएसीको भूमिकाबारे पनि थप अनुसन्धान गर्न अभियोजकहरूलाई सिफारिस गरिएको जानकारी दिए ।
पीडित परिवारका कानूनी प्रतिनिधि थालेस एन्ड्रेडेले दुर्घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जिम्मेवार सबै व्यक्ति र संस्थाविरुद्ध क्षतिपूर्तिको दाबी गरिने बताए । उनले सञ्चालन, व्यवस्थापन र टिकट बिक्रीसँग सम्बन्धित सबै जिम्मेवार पक्षलाई कानूनी दायरामा ल्याइने स्पष्ट पारे ।
सङ्घीय प्रहरीको निष्कर्षअनुसार जानाजानी गरिएको लापरवाही, अनुचित मर्मत अभ्यास र संस्थागत असफलताले प्रतिकूल मौसममा विमान सञ्चालन गर्न प्रत्यक्ष योगदान पुर्याएको थियो । गत महिना ब्राजिलको वायु सेनाले पनि गम्भीर आइसिङ अवस्था, यान्त्रिक प्रणालीको खराबी र पाइलटको कार्यगत विचलनको संयुक्त प्रभावले सन् २००७ यताकै देशको सबैभन्दा घातक हवाई दुर्घटना भएको पुष्टि गरेको थियो ।रासस
प्रकाशित समय : १२:०२ बजे


















