global ime bank Long Banner Ad

गृहपृष्ठ नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, सञ्चालन आम्दानी तथा लाभांश क्षमतामा उल्लेख्य सुधार गरेको जानकारी दिएको छ ।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ३३.५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानी बढ्नु र कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) घट्नु मुख्य कारण बनेको छ । अघिल्लो आर्थिक वर्षमा १६ अर्ब ३२ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर १७ अर्ब ९२ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, बैंकको इम्पेयरमेन्ट चार्ज ४ अर्ब २० करोड रुपैयाँबाट घटेर २ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ । यसले बैंकको सञ्चालन नाफा २५.२२ प्रतिशतले बढाएर ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पु¥याएको छ । अघिल्लो आर्थिक वर्षमा सञ्चालन नाफा ९ अर्ब २३ करोड ५४ लाख रुपैयाँ रहेको थियो ।

वित्तीय सूचकहरूमा आएको सुधारसँगै बैंकको लाभांश वितरण क्षमता पनि बढेको छ । नियामकीय समायोजनपश्चात् बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १९ रुपैयाँ १० पैसा पुगेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप र कर्जा दुवै दोहोरो अंकले बढेका छन् । ग्राहक निक्षेप १२.९५ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १२ प्रतिशतले बढेर ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । बैंकको कुल सम्पत्ति १५.३८ प्रतिशतले वृद्धि भई ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा र विभिन्न जगेडा कोषसहित कुल इक्विटी ७१ अर्ब ९० करोड ६५ लाख रुपैयाँ पुगेको छ ।सम्पत्ति गुणस्तरतर्फ पनि बैंकले सुधार देखाएको छ । खराब कर्जा अनुपात (एनपीएल) ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा झरेको छ भने नेट एनपीएल ०.५८ प्रतिशतमा सीमित रहेको छ ।

चौथो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २८ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ २८ पैसा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य २ हजार ७१५ रुपैयाँ ५० पैसा तथा तरलता अनुपात २८.८७ प्रतिशत कायम भएको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले नाफा, वितरणयोग्य मुनाफा र सम्पत्ति गुणस्तरमा सुधार देखिएकाले आगामी साधारणसभाबाट आकर्षक लाभांश वितरण गर्ने क्षमता थप बलियो भएको संकेत गरेको छ ।

प्रकाशित समय : १०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु