गृहपृष्ठ सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी
काठमाडौँ । मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी नदीमा बेपत्ता तीन जना यात्रु र कारको खोजी कार्य आज पनि जारी रहेको छ ।
सोमबार बिहान त्यसस्थानमा काठमाडौँबाट–ओलढुङ्गाको सिस्नेरीतर्फ गइरहेका बाप्र ०८–००१–ख ०१४४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा सडकमा रोकी रहेको कार करिब ५० मिटर तल नदीमा खसेर बेपत्ता भएको थियो ।
उक्त दुर्घटनामा कारमा सवार सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का निर्माण व्यवसायी दिलबहादुर तामाङ, गोलन्जोर गाउँपालिका–१ का स्काभेटर चालक गणेश थापा र तीन पाटन गाउँपालिका–९ का स्काभेटरका सहचालक सुजन मगर कारसहित कोशीमा हराइरहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको खुर्कोटबाट खटिएको गोताखोरसहितको टोली, नेपाल प्रहरी र स्थानीयले डुङ्गाको प्रयोग गरी खोजी गरिरहे पनि हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
बर्खायाम भएकाले सुनकोशी धमिलो र उच्च पानीको बहाव रहेकाले खोजी कार्य चुनौतीपूर्ण भइरहेको रहेको त्यहाँ खटिएका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताए ।
यसैबीच उक्त घटनापछि अवरुद्ध मध्यपहाडी राजमार्गको घुर्मी– खुर्कोटखण्ड खुलाउन पीडित पक्ष, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायबीच वार्ता भइरहेको छ । सडकमा रोकी राखेको कारलाई बस चालकको लापर्वाहीका कारण ठक्कर दिएको भन्दै चालकमाथि कारबाही गर्न पीडित पक्षबाट माग गरिएको छ ।
प्रकाशित समय : १३:३७ बजे



















