गृहपृष्ठ वीरेन्द्रनगरको दलित छात्रावासमा करोडौं रुपैयाँ डुब्यो, लेखा समितिले चोख्याउने काम नगरोस् : खगेन्द्र सुनार
वीरेन्द्रनगरको दलित छात्रावासमा करोडौं रुपैयाँ डुब्यो, लेखा समितिले चोख्याउने काम नगरोस् : खगेन्द्र सुनार
काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीमाथि छलफल गरिएको छ ।
छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले सुर्खेतको वीरेन्द्रनगरस्थित दलित समुदायका विद्यार्थीका लागि निर्माण गरिएको छात्रावासमा भएको सरकारी लगानी प्रभावकारी रूपमा उपयोग हुन नसकेको भन्दै छानबिनको माग गरेका छन् ।
उनले उक्त छात्रावास निर्माणमा लाखौंदेखि करोडौं रुपैयाँसम्म सरकारी लगानी भए पनि संरचना हालसम्म प्रयोगविहीन अवस्थामा रहेको दाबी गरे । छात्रावास अहिले पनि खण्डहरजस्तै अवस्थामा रहेको र त्यसबाट लक्षित समुदायले लाभ लिन नसकेको उनको भनाइ थियो ।
उनले भने, ‘सुर्खेतको वीरेन्द्रनगर बसपार्क पछाडि दलित समुदायका विद्यार्थीलाई अध्ययनका लागि बसोबास गराउने उद्देश्यले सरकारले एउटा छात्रावासमा लगानी गरेको थियो । तर त्यस छात्रावासमा लगानी गरिएको लाखौं–करोडौं रुपैयाँ खेर गएको छ । उक्त संरचना अहिले पनि खण्डहरकै अवस्थामा छ । केही पनि सम्पन्न भएको छैन । बालबालिका, दलित, महिला र ज्येष्ठ नागरिकका नाममा राज्यको करोडौं रुपैयाँ डुबेको छ । सचिवज्यू यहाँ उपस्थित हुनुहुन्छ, उहाँलाई पनि यो विषय स्पष्ट छ। तर यो विषय सार्वजनिक लेखा समितिमा आइसकेपछि समितिले सुनपानी छर्किएर चोख्याएर पठाउने काम गर्नु हुँदैन । यसमा तत्काल आवश्यक प्रक्रिया अघि बढाउनुपर्छ । सार्वजनिक हितसँग सम्बन्धित कार्यक्रमका विषयमा प्रभावकारी कारबाही हुनुपर्छ ।’
सांसद सुनारले बालबालिका, दलित, महिला तथा ज्येष्ठ नागरिकका नाममा सञ्चालन गरिएका कार्यक्रम र संरचनामा राज्यको ठूलो रकम दुरुपयोग भएको आरोप लगाउँदै यस्ता विषयमा सार्वजनिक लेखा समितिले निष्पक्ष रूपमा छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
बैठकमा सम्बन्धित मन्त्रालयका सचिव उपस्थित रहेको उल्लेख गर्दै उनले समितिले उजुरीलाई सामान्य रूपमा टुंग्याउने वा जिम्मेवारीबाट उन्मुक्ति दिने काम गर्नु नहुने धारणा व्यक्त गरे । उनले सार्वजनिक हितसँग जोडिएका यस्ता विषयमा तत्काल आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरे ।
प्रकाशित समय : १९:४६ बजे



















