गृहपृष्ठ डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक’
डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक’
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले महिला, बालबालिकामाथि हुने डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक रहेको बताएको छन् ।
प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिमा आज सामाजिक सञ्जालको अवस्थाबारे भएको छलफलमा मन्त्री वादीले सामाजिक सञ्जालको नियमन गर्नुपर्नेमा जोड दिए । उनले बालबालिका र महिला सबैभन्दा बढी डिजिटल हिंसामा पीडित भएका उल्लेख गर्दै साइबर ब्युरोलाई उजुरी प्रणाली सहज र प्रभावकारी बनाउन निर्देशनसमेत दिए ।
समितिका सभापति आकृति अवस्थीले पछिल्लो समय डिजिटल हिंसा बढ्दो अवस्थामा रहेकाले साइबर सुरक्षाको दृष्टिलाई ध्यानमा राख्दै एकीकृत डिजिटल हिंसासम्बन्धी कानुन निर्माण गर्न आग्रह गरे । समाजिक सञ्जालको अवस्थाबारे गरिएको छलफल पश्चात सभापति अवस्थीले भने “डिजिटल हिंसाको अवस्था भयावह हुँदै गएको छ । यस्तो अवस्थामा एउटा एकीकृत कानुन आवश्यक छ ।” उनले कानुन मन्त्रालय, महिला मन्त्रालयलगायत सम्बन्धी मन्त्रालयहरुलाई उक्त सुझाव दिएको हो ।
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले साइबर सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउनुका साथै डिजिटल साक्षरतासमेत बढाउनु पर्ने धारणा राखे। बैठकमा साइबर ब्युरोको प्रतिवेदनसमेत पेस गरिएको थियो ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले साइबर सुरक्षाको अवस्था जटिल बन्दै गएको बताए । उनले साइबर अपराधको उजुरीलाई तत्काल सम्बोधन गर्न प्रर्याप्त स्रोतसाधान, जनशक्तिको व्यवस्था र ब्युरो चुस्त दुरुस्त बनाउनुपर्ने बताए । उनले भने “साइबर क्राइम न्यूनीकरण गर्न समय सापेक्षको कानुन निर्माण, प्रहरी संयन्त्र बलियो बनाउनुको साथै नागरिकस्तरको जनचेतना वृद्धि गर्नुपर्छ ।”
प्रकाशित समय : १९:५२ बजे



















