काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रदर्शनका क्रममा दुव्र्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ

1.91K
shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुव्र्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिन चाहेको बताउनुभएको छ । ती प्रदर्शनले उहाँको सरकारमाथि पछिल्ला वर्षयताकै ठूलो राजनीतिक दबाब सिर्जना गरेको थियो ।

परीक्षाको प्रश्नपत्र चुहावटसम्बन्धी विषयलाई लिएर अनलाइन समूह ‘कक्रोच जनता पार्टी’(सीजेपी)ले नयाँदिल्लीसहित विभिन्न सहरमा प्रदर्शन आयोजना गरेको थियो । ती प्रदर्शनहरू बेरोजगारी र सुशासनसम्बन्धी असन्तुष्टिसँग जोडिँदै गएपछि सरकारका लागि चुनौती बनेका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकहरूको आलोचना तथा प्रहरी उजुरीको सामना गरिरहेका छन् ।

प्रहरीले सामाजिक सञ्जाल कम्पनीहरू मेटा र एक्सलाई प्रधानमन्त्रीलाई लक्षित गरी बनाइएका अपमानजनक तथा तोडमोड गरिएका सामग्री हटाउन आग्रह गरेको जनाएको छ ।

“जन्तर मन्तरमा के भयो भन्ने कुरा देश र विश्वले देख्यो । केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरे,” ७५ वर्षीय मोदीले शुक्रबार राति इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियो सन्देशमा भन्े ।

“ती शब्दहरू मप्रति मात्र होइन, मेरी दिवङ्गत आमाप्रति पनि लक्षित थिए । तर म उनीहरूलाई माफ गर्न चाहन्छु,” मोदीले भने ।

प्रदर्शनकारीविरुद्ध दर्ता भएका प्रहरी मुद्दाबारे बोल्दै मोदीले युवावस्थामा हुने गल्तीलाई कानुनी कारबाहीभन्दा पनि मार्गदर्शनमार्फत सुधार गर्नुपर्ने बताए ।

गत महिना सुरु भएको प्रदर्शन सुरुमा परीक्षाको प्रश्नपत्र चुहावटको विरोधमा केन्द्रित थियो । पछि यो बेरोजगारी र शासन प्रणालीप्रतिको असन्तुष्टिसँग जोडिँदै व्यापक आन्दोलनमा परिणत भएको थियो, जसको दबाबपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए ।

प्रदर्शन सुरु भएयता मोदीले युवासँग संवादका लागि इन्स्टाग्रामको प्रयोग बढाउनुभएको छ । यही सामाजिक सञ्जालमार्फत सीजेपीले पनि ठूलो समर्थन जुटाएको थिए।

मोदीको सत्तारुढ दलसँग सम्बन्धित इन्स्टाग्राम खातामा करिब ९६ लाख फलोअर्स छन् भने गत मे महिनामा स्थापना भएको सीजेपीको खातामा दुई करोड ६० लाखभन्दा बढी फलोअर्स रहेको जनाइएको छ ।रासस