global ime bank Long Banner Ad

गृहपृष्ठ सुनसरीमा जनजीवन सहज बन्दै, सर्वपक्षीय छलफलमा सद्भाव कायम गर्ने प्रतिबद्धता

सुनसरीमा जनजीवन सहज बन्दै, सर्वपक्षीय छलफलमा सद्भाव कायम गर्ने प्रतिबद्धता

सुनसरीमा जनजीवन सहज बन्दै, सर्वपक्षीय छलफलमा सद्भाव कायम गर्ने प्रतिबद्धता

काठमाडौँ । गत आइतबार दुई समूहबीच झडप भएयता अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख भएको छ। सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा राजनीतिक दलहरूको प्रयासपछि अवस्था सामान्य बन्दै गएको हो।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सुरक्षा अवस्था सामान्यतर्फ उन्मुख भएको र थप प्रयास जारी रहेको बताए। उनका अनुसार प्रभावित केही गाउँपालिकाले सर्वपक्षीय सद्भाव बैठक आयोजना गरी अवस्था सामान्य बनाउनका लागि भूमिका खेलेका छन्।

“विशेष गरी हरिनगर र भोक्राह नरसिंह गाउँपालिकाले आज सर्वपक्षीय सद्भाव बैठक आयोजना गरेका छन्, उक्त बैठकमा शान्ति तथा सुव्यवस्थामा खलल आउन नदिनका लागि सक्दो प्रयास गर्ने सहमति भएको छ”, उनले भने।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार प्रशासनले आजै प्रभावित स्थानीय तहका प्रमुख र उपप्रमुखसँग र त्यसपछि विवादमा संलग्न दुवै पक्षबीच पनि जिल्लामा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्ने विषयमा छलफल गर्दैछ।

गत आइतबार राति दुई समूहबीच भएको विवादपछि असहज बनेको थियो। विवादका क्रममा भएको झडपमा गोली लागी एक जनाको मृत्यु भएको थियो। जिल्ला प्रशासन कार्यालयले अवस्था बिग्रन नदिन तत्कालै विभिन्न प्रभावित नगरपालिका र गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु तथा निषेध आदेश जारी गरेको थियो।

सो घटनाका सम्बन्धमा मङ्गलबार प्रधानमन्त्री वालेन्द्र शाहले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ती र दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाइसकेका छन्।

प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको उल्लेख गर्दैै त्यसबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पारे।

सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको र यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम चालिने उनको भनाइ थियो। प्रधानमन्त्री शाहले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गरे।

गृह मन्त्रालयले सुनसरी घटनापछि अन्य जिल्लामा हुनसक्ने सम्भावित विवाद र झडपलाई मध्यनजर गर्दै ती जिल्लाको सुरक्षा अवस्थाबारे निरन्तर अनुगमन र समन्वय गरिरहेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता एवम् सह–सचिव आनन्द काफ्लेले मन्त्रालयले विशेषगरी बाँके, कपिलवस्तु तथा मधेशका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरी वर्तमान अवस्था, विभिन्न समुदायबीचको समन्वय र सद्भाव कायम राख्न भइरहेका प्रयासबारे जानकारी लिएको जानकारी दिए। उनले अहिले अन्य स्थानमा अवस्था सामान्य रहेको उल्लेख गर्दै सुनसरीमा पनि विभिन्न पक्षबीच वार्ताको प्रक्रियामार्फत समस्या समाधान भइरहेको बताए।

गृह मन्त्रालयमा मन्त्री, सचिव तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागितामा सुनसरी घटनापछि जिल्लागत सुरक्षा अवस्थाको समीक्षा समेत गरिएको उनले बताए।

त्यसैगरी बुधबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको अगुवाइमा सिंहदरबारमा सर्वदलीय छलफल भएको थियो। छलफलपछि नौ राजनीतिक दलले संयुक्त अपील जारी गर्दै सदियौंदेखि समाजमा कायम रहेको पारस्परिक भाइचारा र सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन आग्रह गरिएको थियो। अपीलमा आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति हामी सबै सचेत हुनु जरुरी रहेको उल्लेख थियो।

“लोकतन्त्रमा जस्तो सुकै जटिल असन्तुष्टि र समस्याहरूको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट मात्र सम्भव छ। आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न सम्बन्धित सबै पक्षलाई हामी आह्वान गर्दछौँ”, अपीलमा भनिएको छ।

छलफलपछि उक्त समस्या समाधानका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पुर्या उन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न आ–आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशन दिने सहमति भएको थियो।

प्रकाशित समय : १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु