सभामुखको सक्रियता, संसद् प्रभावकारी बनाउने तयारी
वि.सं.२०८३ साउन १२ मंगलवार १६:५८
shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकसँग संसद्को आगामी बैठकलाई प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल गर्नुभएको छ।
सिंहदरबारमा सोमबार भएको छलफलमा साउन १४ गतेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकलाई परिणाममुखी बनाउने, सरकारले पर्याप्त विधेयकसहितको ‘बिजनेस’ उपलब्ध गराउने तथा संसद्को गरिमा कायम राख्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो।
छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले संसद्को मर्यादा र मूल्य–मान्यता कायम राख्दै जनअपेक्षाअनुसार सदन सञ्चालन गर्न सबै दल जिम्मेवार हुनुपर्ने बताउनुभयो। सरकारले पर्याप्त ‘बिजनेस’ उपलब्ध गराउने प्रतिबद्धता जनाएको र दसैँअघि सम्म संसद् सञ्चालन गर्ने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो।
नेपाल कम्युनिस्ट पार्टीका सचेतक युवराज दुलालले संसद्लाई प्रभावकारी बनाउन सरकारले शीघ्र विधेयक दर्ता गर्नुपर्ने धारणा राख्नुभयो। सरकारले पटक–पटक प्रतिबद्धता जनाए पनि हालसम्म पर्याप्त विधेयक संसद्मा नल्याएको उहाँको भनाइ थियो।
रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले दुई साताको अवकाशपछि सुरु हुने बैठकलाई उपलब्धिमूलक बनाउने विषयमा छलफल केन्द्रित रहेको बताउनुभयो। उहाँका अनुसार सरकारले सांसदहरूलाई व्यस्त राख्ने गरी आवश्यक विधेयक प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ।
सत्तापक्ष र विपक्षीबीच देखिएका असहमतिका विषयमा पनि छलफल सकारात्मक रूपमा अघि बढेको र केही दिनभित्रै सहमति जुटाएर संसद्को बैठक सहज रूपमा सञ्चालन गर्ने वातावरण बन्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

























