काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चार प्रदेशमा मध्यम वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षा

3.13K
shares

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै रहेकाले देशभर मौसम प्रभावित बनेको हो।

महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भूभागसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेश र कोशीका तराई क्षेत्रमा आंशिक बदली छ भने कर्णालीका केही स्थान तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेशका थोरै स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराईका केही स्थान, मधेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

विभागले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने जनाएको छ।

भारी वर्षाका कारण पहाडी क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ। यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र विभागको पछिल्लो मौसम सूचनामा नियमित अद्यावधिक रहन अनुरोध गरिएको छ।