गृहपृष्ठ युवालाई कृषिमा आकर्षित गर्न हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनलाई प्राथमिकता
युवालाई कृषिमा आकर्षित गर्न हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनलाई प्राथमिकता
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषितर्फ आकर्षित गर्दै स्वरोजगार सिर्जना गर्ने उद्देश्यका साथ सिँचाइ विस्तार, माटो सुधार र स्वदेशी बीउ उत्पादनलाई आगामी आर्थिक वर्षका प्रमुख प्राथमिकतामा राखेको छ।
उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले अघिल्लो आर्थिक वर्षको प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कृषि उत्पादन वृद्धि, आयआर्जन र युवालाई उत्पादनमुखी कृषिमा जोड्ने कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको जानकारी दिए।
उनका अनुसार युवा स्वरोजगार कार्यक्रममार्फत नयाँ पुस्तालाई आधुनिक तथा व्यावसायिक कृषिमा आबद्ध गराउने नीति लिइएको छ।
माटोको स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत विभिन्न स्थानबाट माटोको नमूना परीक्षण गरिएको छ। परीक्षणको नतिजाका आधारमा माटोको अम्लीयपन कम गर्न ५० प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिएको छ। साथै प्रदेश माटो तथा मल परीक्षण प्रयोगशालाको सहयोगमा ४० मेट्रिक टन कृषि चुन निःशुल्क वितरण गरिएको उपप्रमुख बानियाँले बताए।
तरकारी तथा फलफूल उत्पादन विस्तारका लागि कृषक समूह र कृषि सहकारीमार्फत लिची, केरा, ड्रागन फल तथा एभोकाडोलगायत फलफूल खेती विस्तार गर्ने कार्यक्रम पाँच स्थानमा सञ्चालन भइरहेको छ।
खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार तथा विद्यमान सिँचाइ पूर्वाधारको मर्मतलाई पनि बजेटले प्राथमिकता दिएको उपमहानगरपालिकाले जनाएको छ।
आयातित तथा हाइब्रिड बीउमा बढ्दो निर्भरता घटाउन स्वदेशी खुला सेचित जातका मकै र धानको बीउ उत्पादनलाई समेत प्रोत्साहन गरिएको छ। यसअन्तर्गत ७५० कट्ठामा रामपुर कम्पोजिट मकै, १५ कट्ठामा मकवानपुर–१ धान र १० कट्ठामा राम धानको बीउ उत्पादन गरिनेछ।
त्यस्तै, सङ्घीय सरकारबाट हस्तान्तरण भएको धान पकेट कार्यक्रमअन्तर्गत वडा नम्बर १७ मा श्री साना किसान कृषि सहकारी संस्थामार्फत ३०० कट्ठा क्षेत्रफलमा धानखेती कार्यक्रम सञ्चालन भइरहेको उपमहानगरपालिकाले जनाएको छ।
प्रकाशित समय : ०७:२३ बजे



















