global ime bank Long Banner Ad

गृहपृष्ठ आश्रमका बालबालिकाको शिक्षा र उद्धार गरिएकाको उपचारमा ४० लाख सहयोग

आश्रमका बालबालिकाको शिक्षा र उद्धार गरिएकाको उपचारमा ४० लाख सहयोग

आश्रमका बालबालिकाको शिक्षा र उद्धार गरिएकाको उपचारमा ४० लाख सहयोग

काठमाडौं।  मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा तथा काठमाडौं महानगरपालिकाबाट उद्धार गरी पुनःस्थापनामा रहेका असहाय व्यक्तिको स्वास्थ्य उपचारका लागि आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिसले ४० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रदान गरिने उक्त रकममध्ये २७ लाख रुपैयाँ बालबालिकाको शिक्षामा र १३ लाख रुपैयाँ उद्धार गरिएका व्यक्तिको स्वास्थ्योपचारमा खर्च गरिनेछ।

यससम्बन्धी त्रिपक्षीय सम्झौतामा शुक्रबार काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभाग, आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस र मानव सेवा आश्रमबीच हस्ताक्षर भएको हो। सम्झौता कार्यक्रममा महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोल र सामाजिक समिति संयोजक रामकुमार केसीको उपस्थिति रहेको थियो।

सम्झौतापछि आइडीपीका कन्ट्री डाइरेक्टर कविर खड्गीले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई पहिलो किस्ताबापत २१ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरे। यसमध्ये १० लाख ८० हजार रुपैयाँ शिक्षा कार्यक्रम र १० लाख ४० हजार रुपैयाँ स्वास्थ्य कार्यक्रमका लागि छुट्याइएको छ।

कार्यवाहक प्रमुख डंगोलले काठमाडौंलाई मानवीय मूल्यमा आधारित सहर बनाउने अभियानमा निजी क्षेत्रको सहभागिताले सकारात्मक नतिजा दिन थालेको बताइन्। सामाजिक समिति संयोजक केसीले संस्थागत सामाजिक उत्तरदायित्वमार्फत निजी क्षेत्रले समाजप्रतिको दायित्व प्रभावकारी रूपमा निर्वाह गरेको टिप्पणी गरे।

आइडीपीका कन्ट्री डाइरेक्टर खड्गीले पहिलो वर्षको कार्यक्रमको प्रभाव मूल्यांकनपछि सहयोगलाई निरन्तरता दिने सम्भावना रहेको बताए। आश्रमका अध्यक्ष अधिकारीले प्राप्त सहयोग तोकिएको उद्देश्यअनुसार मात्रै खर्च गरिने प्रतिबद्धता जनाए।

कार्यक्रमको कार्यान्वयन मानव सेवा आश्रमले गर्नेछ भने यसको अनुगमन काठमाडौं महानगरपालिकाले गर्नेछ।

शिक्षा कार्यक्रमअन्तर्गत आश्रममा रहेका विद्यालय उमेरका बालबालिकाको विद्यालय शुल्क, पोशाक, शैक्षिक सामग्री तथा अध्ययनमा आवश्यक अन्य सहयोगमा रकम खर्च गरिनेछ।

हाल मानव सेवा आश्रमले बुटवल, हेटौंडा र गोरखामा बालगृह सञ्चालन गर्दै आएको छ। ती बालगृहमा ९१ बालक र ६४ बालिका गरी १५५ जना बालबालिका आश्रित छन्। तीमध्ये १२० जना विद्यालय जाने उमेरका छन् भने ३५ जना विभिन्न प्रकारका अपाङ्गताका कारण आश्रममै विशेष हेरचाहमा रहेका छन्।

स्वास्थ्य कार्यक्रमअन्तर्गत काठमाडौंका सडकबाट उद्धार गरी पुनःस्थापनामा राखिएका व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य उपचार, औषधि तथा आवश्यक स्वास्थ्य सेवामा सहयोग गरिनेछ। यसबाट दीर्घरोग, मानसिक स्वास्थ्य समस्या तथा उमेरजन्य रोगबाट प्रभावित असहाय व्यक्तिको उपचारमा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ।

हाल काठमाडौं महानगरपालिकाबाट उद्धार गरिएका ५०५ जना व्यक्ति मानव सेवा आश्रमका सात शाखामा आश्रित छन्। उनीहरूमध्ये १७६ महिला, ३२३ पुरुष र ६ जना बालबालिका रहेका छन्।

प्रकाशित समय : ०६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु