global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा टुंगिए

नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा टुंगिए

नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा टुंगिए

नेपालगन्ज । उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले आर्थिक वर्ष २०८२/८३ मा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्योट गर्न सफल भएको छ।

शुक्रबार वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै इजलासका न्यायाधीश बामदेव ज्ञवालीले अदालतले आर्थिक वर्षभर कुल २ हजार १६३ मुद्दामध्ये १ हजार ३५४ वटा फर्छ्योट गरेको जानकारी दिए। यो कुल मुद्दाको ६२.६० प्रतिशत हो।

उनका अनुसार असार मसान्तसम्म १८ महिना नाघेका १५ वटा मुद्दा मात्रै बाँकी छन्। ती मुद्दासमेत साउनभित्रै टुंग्याउने लक्ष्य अदालतले लिएको छ।

फर्छ्योट भएका मुद्दामा देवानीतर्फ अंशबन्डा, मानाचामल, सम्बन्धविच्छेदलगायत रहेका छन् भने फौजदारीतर्फ लागूऔषध, चोरी, डकैती, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, किर्ते, जालसाजी र बैंकिङ कसुरसम्बन्धी मुद्दा रहेका छन्।

अदालतका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका ६४२ र नयाँ दर्ता भएका १ हजार ५२१ गरी कुल २ हजार १६३ मुद्दा विचाराधीन थिए। तीमध्ये १ हजार ३५४ मुद्दा फर्छ्योट भएका छन् भने ८०९ मुद्दा अझै विचाराधीन छन्।

वार्षिक कार्ययोजनाअनुसार २ हजार ४९० मुद्दा रहने अनुमान गर्दै १ हजार ७४३ मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखिएको थियो। त्यसअनुसार अदालतले लक्ष्यको ७७.७ प्रतिशत उपलब्धि हासिल गरेको जनाएको छ।

यद्यपि अघिल्ला दुई वर्षको तुलनामा फर्छ्योट दर भने घटेको छ। आर्थिक वर्ष २०८०/८१ मा ७१.४१ प्रतिशत र २०८१/८२ मा ७५.७४ प्रतिशत मुद्दा फर्छ्योट भएको थियो। चालु आर्थिक वर्षमा यो दर ६२.६० प्रतिशतमा सीमित भएको छ।

न्यायाधीश ज्ञवालीका अनुसार भदौ २३ र २४ गते भएको जनआन्दोलनका क्रममा अदालतमा आगजनी भएपछि करिब चार महिना सुनुवाइ प्रभावित भएकाले फर्छ्योट दरमा गिरावट आएको हो।

अदालतले आगजनीबाट जलेका मिसिलको पुनःप्राप्ति तथा प्रमाणीकरणको काम शतप्रतिशत सम्पन्न गरेको पनि जनाएको छ। आर्थिक वर्षभर ७५३ वटा जलेका मिसिल पुनःप्राप्त गरी प्रमाणीकरण गरिएको अदालतको भनाइ छ।

यता बाँके र बर्दिया जिल्ला अदालतको प्रगति पनि सार्वजनिक गरिएको छ। बाँके जिल्ला अदालतमा कुल ७ हजार ४७ मुद्दामध्ये २ हजार ७३३ मुद्दा फर्छ्योट भएका छन् भने ४ हजार ३१४ मुद्दा अझै विचाराधीन छन्। यसअनुसार बाँके जिल्ला अदालतको फर्छ्योट दर करिब ३८.८ प्रतिशत रहेको छ।

त्यस्तै, बर्दिया जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा १ हजार ३१२ मुद्दा फर्छ्योट गरेको जनाएको छ।

प्रकाशित समय : ०६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु