गृहपृष्ठ सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न
सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आमसर्वसाधारणमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले चालु आर्थिक वर्ष २०८२/८३ मा सातै प्रदेशमा रहेका आफ्ना १४८ शाखा कार्यालयमार्फत वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
बैंकका अनुसार कोशी प्रदेशका २०, मधेश प्रदेशका २१, बागमती प्रदेशका ४३, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम प्रदेशका १० शाखामार्फत विभिन्न उमेर समूहका व्यक्ति, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारीमा जाने सम्भावित व्यक्ति तथा अन्य समुदायलाई लक्षित गरी वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरिएको हो। ती कार्यक्रमबाट करिब १० हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता र महत्वका विषयमा विस्तृत जानकारी गराइनुका साथै डिजिटल बैंकिङको विस्तारसँगै बढ्दै गएको वित्तीय अपराध तथा त्यसबाट हुन सक्ने जोखिमबारे पनि सहभागीलाई सचेत गराइएको थियो। नगद कारोबार, लेनदेन तथा विप्रेषणलगायतका वित्तीय कारोबार गर्दा औपचारिक बैंकिङ प्रणालीको प्रयोग गर्न बैंकले आग्रह गरेको छ। यसबाट बैंकिङ प्रणाली थप सुदृढ हुनुका साथै नागरिकमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले व्यक्त गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत पनि विभिन्न कार्यक्रम सम्पन्न गरेको जनाएको छ। शाखा कार्यालयमार्फत विभिन्न सामुदायिक विद्यालय, स्थानीय स्वास्थ्य केन्द्र तथा अन्य संघसंस्थालाई सहयोग प्रदान गरिएको बैंकको भनाइ छ।
यसअन्तर्गत सार्केगाड शाखाले सार्केगाड गाउँपालिका–४ स्थित श्री हिमज्योति माध्यमिक विद्यालयका बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत १९६ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक तथा न्यानो स्वेटर उपलब्ध गराएको छ। यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको जनाएको छ।
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गर्न सफल भएको बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो।
त्यसैगरी, बैंकले हालै नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता पनि सुरु गरेको बैंकले जनाएको छ।
यस्तै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा उपलब्ध गराएको बैंकले जनाएको छ। साथै, क्रस बैंक टेलर सेवाअन्तर्गत अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ४५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
प्रकाशित समय : १६:२७ बजे



















