global ime bank Long Banner Ad

गृहपृष्ठ गृहमन्त्रीको निर्देशनपछि मिटरब्याजीको विवरण सङ्कलन सुरु

गृहमन्त्रीको निर्देशनपछि मिटरब्याजीको विवरण सङ्कलन सुरु

गृहमन्त्रीको निर्देशनपछि मिटरब्याजीको विवरण सङ्कलन सुरु

निजगढ । जनकपुरबाट पैदल यात्रा गरी काठमाडौं हिँडेका मिटरब्याज पीडितलाई भेट्न बाराको निजगढ आइपुगेका गृहमन्त्री सुधन गुरुङले पीडित र पीडकको विवरण तत्काल सङ्कलन गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

निजगढमा आज पीडितको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले सोही स्थानबाटै विवरण सङ्कलनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन्। गृहमन्त्रीको निर्देशनलगत्तै प्रहरीले मिटरब्याजमा संलग्न व्यक्तिको विवरण सङ्कलन सुरु गरेको छ।

पीडितको समस्या सुनेपछि गृहमन्त्री गुरुङले प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोनमा अवस्थाको जानकारी गराउँदै आवश्यक छलफल गरेका थिए। पीडितको समस्या सुनेपछि आगामी कदमका बारेमा प्रधानमन्त्रीसँग छलफल गरेको उनले जानकारी दिए।

गृहमन्त्री गुरुङले करिब ६ घण्टासम्म पीडितका कुरा सुनेका थिए। अधिकांश पीडितले सुरक्षा निकाय र न्यायालयबाट न्याय पाउन नसकेको भन्दै गुनासो गरेका थिए। गृहमन्त्री गुरुङले मिटरब्याजको समस्या समाधान गर्न आवश्यक ऐन, नियम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

पीडितसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले पीडितलाई न्याय दिने प्रक्रिया अघि बढेको बताए। उनले विवरण सङ्कलनपछि थप प्रक्रिया अघि बढ्ने जानकारी दिए। गृहमन्त्रीसँगको भेटपछि मिटरब्याज पीडित आज निजगढमै रोकिएका छन्।

न्याय नपाएको भन्दै जनकपुरबाट मिटरब्याज पीडित यही असार २५ गते पैदल यात्रामा निस्किएका थिए। निजगढमा सोमबार साँझ आइपुगेका उनीहरुलाई उद्योग वाणिज्य सङ्घको भवनमा राखिएको थियो।

यसैबीच निजगढमा पीडितसँग भेटेर फर्किएका गृहमन्त्रीले साँझ सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए। मिटरब्याजसम्बन्धी मुद्दा र सुरक्षा संवेदनशीलताको विषयमा उहाँले सुरक्षा अधिकारीसँग छलफल गरिरहनुभएको बुझिएको छ।

प्रकाशित समय : २३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु