गृहपृष्ठ ‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, यू–१६ का ८० युवा खेलाडी सहभागी
‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, यू–१६ का ८० युवा खेलाडी सहभागी
काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एजी–१० एकेडेमीसँगको सहकार्यमा ‘हुन्डाई नेक्स्ट जेन कप’ फुटबल प्रतियोगिता सम्पन्न गरेको छ। ग्रासरुट फुटबलको विकास र युवा खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा १६ वर्षमुनिका (यू–१६) ८० खेलाडी सहभागी भएका थिए।
ललितपुरस्थित च्यासल मैदानमा भएको एकदिने प्रतियोगितामा टिम क्रेटा इलेक्ट्रिक, टिम भेन्यु, टिम आयोनिक ५, टिम एक्स्टर, टिम कोना, टिम क्रेटा, टिम ग्रान्ड आई–१० नियोस र टिम पालिसेड गरी आठ टोलीले प्रतिस्पर्धा गरेका थिए। फाइनलमा टिम भेन्यु विजेता बनेको थियो भने टिम क्रेटा इलेक्ट्रिक उपविजेतामा सीमित भयो।
प्रतियोगिताले युवा खेलाडीलाई व्यवस्थित प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने, खेल अनुभव हासिल गर्ने तथा आत्मविश्वास अभिवृद्धि गर्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ। एजी–१० एकेडेमीसँगको सहकार्यले नेपाली फुटबलको ग्रासरुट विकासमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको पनि कम्पनीको भनाइ छ।
प्रतियोगिताका अवसरमा एजी–१० एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङ ले नेपालमा फुटबल प्रतिभाको कमी नभए पनि अवसरको अभाव रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले युवा खेलाडीलाई ठूलो सपना देख्ने र त्यसलाई पूरा गर्ने आत्मविश्वास प्रदान गर्ने बताए। उनले हुन्डाई नेपालको सहकार्यले नेपाली फुटबलको भविष्यलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कम्पनीका अनुसार हुन्डाई विश्वकप २०२६ को आधिकारिक साझेदार हो। सोहीअनुरूप ‘नेक्स्ट स्टार्ट्स नाउ (Next Starts Now)’ अवधारणालाई अघि बढाउँदै नेपालमा पनि ग्रासरुट फुटबलको विकासमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
लक्ष्मी इन्टरकन्टिनेन्टलले युवा विकास, समुदायसँगको सहकार्य तथा ग्रासरुट खेलकुद प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
प्रकाशित समय : १८:०३ बजे



















