गृहपृष्ठ नयाँ अध्यक्ष नियुक्तिसँगै क्यान्सर अस्पतालका कर्मचारीको तलब भुक्तानी सुरु
नयाँ अध्यक्ष नियुक्तिसँगै क्यान्सर अस्पतालका कर्मचारीको तलब भुक्तानी सुरु
चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्ष नियुक्त भएपछि कर्मचारीको तीन महिनादेखि रोकिएको तलब, भत्ता तथा अन्य नियमित भुक्तानी सुरु गरिएको छ।गत चैत २० गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा असार १९ गते डा. योगेन्द्रप्रसाद सिंह नियुक्त भएसँगै रोकिएका भुक्तानी प्रक्रिया अघि बढाइएको हो।
अस्पतालका कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार अध्यक्षको अभावमा तलब, भत्ता तथा नियमित भुक्तानी रोकिएको थियो। अध्यक्ष र कार्यकारी निर्देशकको संयुक्त हस्ताक्षरबिना मूल खाताबाट खर्च हुने खातामा रकम स्थानान्तरण गर्न नमिल्ने प्रावधानका कारण औषधिलगायत अत्यावश्यक सामग्री खरिदसमेत प्रभावित भएको थियो।
हाल अध्यक्ष नियुक्त भएपछि नियमित आर्थिक कारोबार सहज बन्दै गएको अस्पतालले जनाएको छ। यद्यपि पदेन सदस्यबाहेक सञ्चालक समितिका अन्य सदस्य अझै नियुक्त हुन बाँकी छन्।
कार्यकारी निर्देशक नेपालले दैनिक प्रशासनिक तथा सेवा प्रवाहमा अहिले कुनै समस्या नरहेको बताए। उनका अनुसार ठूला नीतिगत निर्णयका लागि सञ्चालक समितिको निर्णय आवश्यक पर्ने भए पनि नियमित काम अध्यक्ष र कार्यकारी निर्देशकबाट सञ्चालन गर्न सकिने व्यवस्था छ। अस्पतालमा करिब ८०० चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन्।
प्रकाशित समय : १२:१८ बजे



















