गृहपृष्ठ आदिकविले नेपाली भाषाको एकता र पहिचान बलियो बनाए : सभामुख अर्याल
आदिकविले नेपाली भाषाको एकता र पहिचान बलियो बनाए : सभामुख अर्याल
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिमार्फत राष्ट्रिय एकता र भाषिक पहिचानलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिएको बताए।
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा भानु प्रतिष्ठानले नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा अर्यालले भानुभक्तलाई नेपाली चेतनाका आधारशिला, राष्ट्रिय विभूति तथा जनताका स्रष्टाका रूपमा स्मरण गरे।
उनले भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर धर्म, दर्शन, नीति र आदर्शलाई आम नागरिकसम्म सहज रूपमा पुर्याएको उल्लेख गर्दै उनको लेखनीले नेपाली भाषालाई घर–घरमा स्थापित गरेको बताए। नेपाली भाषा नै देशभित्र र विदेशमा रहेका नेपालीलाई एकताको सूत्रमा बाँध्ने माध्यम बनेको उनको भनाइ थियो।
अर्यालले भानुभक्तको योगदानलाई स्मरण गर्नु मात्र पर्याप्त नभई उनको आदर्शलाई आत्मसात् गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सबैले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए। बदलिँदो समय र आधुनिक प्रविधिका बीच नेपाली भाषा र पहिचान जोगाउनु साझा जिम्मेवारी भएको उनले बताए।
कार्यक्रममा नेपाली साहित्य क्षेत्रमा योगदान पुर्याएको भन्दै साहित्यकार महेश्वर शर्मा र डा. आना एम. स्टिरलाई रथारोहणसहित सम्मान गरियो। कार्यक्रममा प्रभातफेरी, भानुभक्तको प्रतिमामा माल्यार्पण तथा विभिन्न साहित्यकार, विद्यार्थी र शुभेच्छुकहरूको सहभागिता रहेको थियो।
प्रकाशित समय : १२:०८ बजे



















