global ime bank Long Banner Ad

गृहपृष्ठ धार्मिक पर्यटनसँगै आर्थिक केन्द्र बन्दै जनकपुरधाम

धार्मिक पर्यटनसँगै आर्थिक केन्द्र बन्दै जनकपुरधाम

धार्मिक पर्यटनसँगै आर्थिक केन्द्र बन्दै जनकपुरधाम

धनुषा ।  मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रूपमा परिचित जनकपुरधाम धार्मिक आस्थाको केन्द्रसँगै पर्यटन, संस्कृति, व्यापार र स्थानीय अर्थतन्त्रको प्रमुख आधारका रूपमा विस्तार हुँदै गएको छ। प्रत्येक वर्ष लाखौँ स्वदेशी तथा विदेशी श्रद्धालु तथा पर्यटकको आगमनले जनकपुरधामलाई नेपालको प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित गरिरहेको छ।

जानकी मन्दिर, राम मन्दिर, विवाह मण्डप, धनुषसागर, गङ्गासागर, प्राचीन मठ–मन्दिर, मिथिला चित्रकला तथा धार्मिक–सांस्कृतिक सम्पदाले जनकपुरधामको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याएको छ। भारतसँगको सांस्कृतिक सम्बन्ध, राम–जानकी विवाह परम्परा र विवाहपञ्चमी महोत्सवले यहाँको धार्मिक पर्यटनलाई थप आकर्षक बनाएको छ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधाम धार्मिक आस्थाको केन्द्र मात्र नभई प्रदेशको आर्थिक विकासको आधार बन्न सक्ने बताए। धार्मिक पर्यटनलाई रोजगारी, लगानी र स्थानीय उत्पादनसँग जोडेर अघि बढाउने नीति प्रदेश सरकारले लिएको उनले जनाए। पर्यटन पूर्वाधार विस्तार, सडक सुधार, सरसफाइ, सुरक्षा र पर्यटकमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिइएको उनले बताए।

उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलले जनकपुरधामलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न दीर्घकालीन योजना कार्यान्वयन भइरहेको बताए। जनकपुर–अयोध्या धार्मिक सर्किट, निजी क्षेत्रसँगको सहकार्य, पर्यटन पूर्वाधार विस्तार तथा मिथिला संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको उनले जानकारी दिए।

हिन्दू धर्मावलम्बीको प्रमुख तीर्थस्थल जानकी मन्दिरमा दैनिक हजारौँ श्रद्धालु दर्शनका लागि पुग्ने गर्छन्। गङ्गाआरती, विवाहपञ्चमी, रामनवमी, जानकी नवमी, झूलनोत्सव, दीपावली र छठका अवसरमा यहाँ लाखौँ भक्तजनको उपस्थिति रहने गर्छ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोषण दास वैष्णवले जनकपुरधाम सम्पूर्ण हिन्दू समुदायको आस्थाको केन्द्र भएकाले यसको धार्मिक गरिमा, मौलिकता र सम्पदाको संरक्षणमा सबै पक्षको साझा जिम्मेवारी हुनुपर्ने बताए।

महन्त राम तपेश्वर दास वैष्णवले जनकपुरधाम धार्मिक आस्थाको केन्द्र मात्र नभई मिथिला सभ्यता, संस्कृति र आध्यात्मिक जीवनदर्शनको केन्द्र रहेको बताए। धार्मिक पर्यटनलाई संस्कृति संरक्षणसँग जोडेर अघि बढाउनुपर्नेमा उनले जोड दिए। राम–जानकीसँग सम्बन्धित सम्पूर्ण धार्मिक स्थललाई एउटै धार्मिक पर्यटन मार्गका रूपमा विकास गर्न सके जनकपुरधाम विश्वस्तरीय गन्तव्य बन्न सक्ने उनले बताए।

जनकपुरधाम धार्मिक पर्यटनसँगै सांस्कृतिक पर्यटनको पनि महत्वपूर्ण केन्द्र बनेको छ। मिथिला चित्रकला, मैथिली भाषा, लोकसंस्कृति, परम्परागत वेशभूषा, स्थानीय परिकार तथा सांस्कृतिक सम्पदाले पर्यटकलाई आकर्षित गरिरहेका छन्। विशेषगरी मिथिला चित्रकलाले अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान बनाएको छ।

धार्मिक पर्यटनले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारेको छ। होटल, लज, रेष्टुरेन्ट, यातायात, धार्मिक सामग्री, हस्तकला, मिथिला चित्रकला, फूलमाला, प्रसाद, स्थानीय मिठाई तथा साना व्यवसाय धार्मिक पर्यटककै कारण फस्टाएका छन्। यसबाट हजारौँ स्थानीयले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयसँग जनकपुरधाम आउने पर्यटकको एकीकृत तथ्याङ्क भने छैन। मन्त्रालयका सचिव जयकुमार घिमिरेले अद्यावधिक अभिलेख प्रणाली नहुँदा आधिकारिक तथ्याङ्क उपलब्ध गराउन कठिनाइ भएको बताए। पर्यटक आगमनको तथ्याङ्क सङ्कलन तथा पर्यटन व्यवस्थापन प्रणालीलाई प्रविधिमैत्री बनाउने काम अघि बढाइएको उनले जानकारी दिए।

उद्योग वाणिज्य सङ्घ जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारीले धार्मिक पर्यटन स्थानीय व्यापार र सेवा क्षेत्रको मेरुदण्ड बनेको बताए। गुणस्तरीय होटल, आधुनिक सुविधा र व्यवस्थित बजार विकास गर्न सके पर्यटकको बसाइ अवधि बढाउन सकिने उनले बताए।

उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका सल्लाहकार मनिषरमण साहले सार्वजनिक–निजी साझेदारीमार्फत पर्यटन क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिए। धार्मिक पर्यटनलाई उद्योग, व्यापार, स्थानीय उत्पादन र रोजगारीसँग जोड्न सके मधेस प्रदेशको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने उनले बताए।

होटल व्यवसायीका अनुसार विवाहपञ्चमी, रामनवमी, छठ, सीता नवमीलगायत पर्वका बेला होटलहरूको अकुपेन्सी उल्लेख्य रूपमा बढ्ने गरेको छ। पर्यटकको बसाइ अवधि लम्ब्याउन गुणस्तरीय सेवा, पर्याप्त आवास, आधुनिक सुविधा र पर्यटनमैत्री वातावरण आवश्यक रहेको उनीहरूको भनाइ छ।

सरोकारवालाले जनकपुरधाममा पार्किङ, सूचना केन्द्र, बहुभाषिक पर्यटक मार्गदर्शक, डिजिटल सूचना प्रणाली, सरसफाइ, हरियाली संरक्षण तथा आधुनिक पूर्वाधार विस्तारमा अझै काम गर्नुपर्ने बताएका छन्। धार्मिक सम्पदाको संरक्षणसँगै आधुनिक व्यवस्थापनलाई प्राथमिकता दिन सके जनकपुरधाम दक्षिण एसियाकै प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्ने उनीहरूको भनाइ छ।

प्रकाशित समय : ११:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु