गृहपृष्ठ समुदाय – प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित
समुदाय – प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित
धरान । सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ । चालु आर्थिक वर्षको असार २४ गतेसम्म सञ्चालन भएका ६६५ समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजार ३९० नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।
सोही अवधिमा अपराध अनुसन्धान, शान्तिसुरक्षा, फैसला कार्यान्वयन, विपद् व्यवस्थापन, उजुरी फछर्यौट तथा प्रविधिमैत्री सेवा प्रवाह पनि प्रभावकारी रूपमा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका प्रमुख केशवकुमार थेबेले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत अपराध नियन्त्रण, चेतना अभिवृद्धि तथा प्रहरी र समुदायबीचको सम्बन्ध सुदृढ बनाउन सफलता मिलेको बताए।
लागूऔषध ओसारपसार नियन्त्रण, ‘साइबर’ अपराध, घरेलु तथा लैङ्गिक हिंसा नियन्त्रण, मानव बेचबिखन, बालविवाह तथा बाल यौन दुर्व्यवहारविरुद्ध ७२ विद्यालयमा सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रमबाट चार हजार १८५ विद्यार्थी लाभान्वित भएका छन् ।
सो अवधिमा तीन करोड ४८ लाख ९१ हजार ५११ राजस्व सङ्कलन गरिएको छ । नदीजन्य सामग्रीको उत्खनन तथा ओसारपसार नियन्त्रणबाट आठ लाख ४४ हजार ९०० राजस्व असुली गरिएको छ । सवारी नियम पालना नगर्ने सवारीचालकबाट तीन करोड ५७ लाख ३६ हजार ४११ राजस्व संकलन भएको बताए ।
यसैगरी, प्रशासनसमक्ष परेका उजुरीमध्ये चार हजार २६८ चार हजार १२४ वटा निरुपण गरिएको छ । फरार रहेका ६७१ प्रतिवादीमध्ये चार सय ८० जनालाई पक्राउ गरी अदालतको निर्णय कार्यान्वयन भएको छ ।
प्रकाशित समय : १९:४७ बजे


















