गृहपृष्ठ कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा
कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा
कास्की ।जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न ‘मनसुन प्रतिकार्य योजना– २०८३’ कार्यान्वयनमा ल्याउने भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबारको बैठकमा प्रतिकार्य योजना प्रस्तुत गरिएको हो । यो प्रतिकार्य आयोजना जिल्ला समन्वय समिति कास्की र रेडक्रस सोसाइटी जिल्लासँग छलफल गरी थप अध्ययनपछि तीन दिनभित्रमा स्वीकृत गरी कार्यान्वयनमा लैजाने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
प्रशासनले तयार गरेको विपद् न्यूनीकरण प्रतिकार्य योजनामा बाढी, पहिरो, डुबान, नदी कटान, सडक अवरोधलगायत मनसुनजन्य विपद्को पूर्वतयारी, खोज तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउने व्यवस्था गरिएको छ ।
कास्की नेपालकै बढी वर्षा हुने जिल्लामध्ये एक भएकाले अन्य प्रकोपको तुलनामा जलजन्य विपद्को जोखिम उच्च रहेकाले सोहीअनुसार योजना बनाइएको छ ।
योजनाअनुसार मनसुन अवधिभर मौसम तथा सम्भावित जोखिमबारे समयमै पूर्वसूचना प्रवाह गर्ने, जोखिमयुक्त बस्तीको पहिचान गर्ने, जिल्ला तथा स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई तयारी अवस्थामा राख्ने, राहत सामग्रीको भण्डारण गर्ने तथा सुरक्षा निकायलाई चौबीसै घण्टा तयारी अवस्थामा परिचालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
स्वास्थ्य, खानेपानी, सरसफाइ, अस्थायी आवास, खाद्यान्न, कृषि, पशुचौपाया, विद्यालय तथा बालबालिकाको सुरक्षा, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको संरक्षणलाई पनि योजनामा प्राथमिकताका साथ समेटिएको छ ।
योजनाले पृथ्वी राजमार्गअन्तर्गत विजयपुर, पुम्दीभुम्दी, चङ्खपुर (पामे), हेम्जा, सुइखेत, नयाँपुल र लुम्लेलगायत क्षेत्रलाई पहिरो तथा सडक अवरोधको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको छ । यस्ता स्थानमा सडक अवरुद्ध भएमा अमरसिंहचोक, छोरेपाटन, भकुन्डे, हरिचोक, नयाँपुल र घट्टेखोलामा सवारीसाधन व्यवस्थापन ‘होल्ड’ गरिने उल्लेख गरिएको छ ।
विपद्का बेला जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र नेपाली सेनाले समन्वयात्मक रूपमा खोज तथा उद्धारकार्य सञ्चालन गर्नेछन् । जिल्ला प्रहरी कार्यालयले ६९ जना तालिमप्राप्त जनशक्ति तथा उद्धार सामग्री तयारी अवस्थामा रहेको छ भने सशस्त्र प्रहरीसँग ५१ जना जनशक्ति, ११ जना गोताखोरसहित जल उद्धारका आवश्यक उपकरण तयारी अवस्थामा राखिएको योजनामा उल्लेख छ । त्यसैगरी नेपाली सेनासँग ३५ जनाको जनशक्ति राखिएको छ ।
“मनसुनजन्य विपद्बाट हुने मानवीय, भौतिक तथा आर्थिक क्षतिको न्यूनीकरण गर्ने उद्देश्यले प्रतिकार्य योजना बनाइएको हो । यसबाट विपद् पूर्वतयारी र प्रतिकार्यलाई व्यवस्थित बनाउन सहयोग पुग्छ”, सहायक प्रमुख जिल्ला अधिकारी बरालले भने ।
चालु आर्थिक वर्ष २०८२÷८३ को जेठ १२ गतेसम्म जिल्लामा १०८ वटा विपद्का घटना भएका, ती घटनामा दुई जनाको मृत्यु, ११ जना घाइते तथा करिब रु छ करोड ४१ लाख ८० हजार बराबरको क्षति भएको तथ्याङ्क रहेको छ ।
प्रकाशित समय : १०:४१ बजे



















