global ime bank Long Banner Ad

गृहपृष्ठ आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

नवलपुर । नवलपुरको कावासोती नगरपालिकाभित्रका विद्यालयहरू शिक्षासँगै आविष्कार, अनुसन्धान र उत्पादनमुखी गतिविधितर्फ अग्रसर भएका छन्। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रममार्फत नगरका २३ विद्यालयमा विभिन्न नवप्रवर्तनात्मक परियोजना सञ्चालन भइरहेका छन्।

कार्यक्रमअन्तर्गत कावासोती–१७ स्थित त्रिभुवन बाल माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीले ‘राधा’ नामक रोबोट निर्माण गरेका छन्। विद्यालयमा पुग्ने आगन्तुकलाई उक्त रोबोटले नमस्कार गर्दै स्वागत गर्ने गरेको छ। विद्यालयका अनुसार यस परियोजनाले विद्यार्थीलाई रोबोटिक्स र कोडिङको आधारभूत ज्ञान दिनुका साथै प्रविधिमैत्री सोच विकास गर्न सहयोग पुर्‍याएको छ।

त्यस्तै, कावासोती–१३ को पिठौली आधारभूत विद्यालयले नवीकरणीय ऊर्जामा आधारित बेसार प्रशोधन इकाई स्थापना गरेको छ भने गोसाइँबाबा आधारभूत विद्यालयले अम्बा र बेसारखेती तथा प्रशोधन कार्यक्रम सञ्चालन गरिरहेको छ। नेपाल राष्ट्रिय आधारभूत विद्यालयले विद्यालयको भान्साबाट निस्कने जैविक फोहर प्रयोग गरी बायोग्यास उत्पादन सुरु गरेको छ।

नगरपालिकाका शिक्षा शाखा अधिकृत राजन पाण्डेका अनुसार विद्यालयहरूमा रोबोटिक्स, बायोग्यास उत्पादन, सोलार ड्रायर निर्माण, फलफूल तथा तरकारी खेती, जैविक मल उत्पादन, नर्सरी स्थापना, स्मार्ट सिँचाइ प्रणाली, गड्यौला मल उत्पादन, बेसारखेती तथा प्रशोधन तथा इकोपोखरी निर्माणलगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्।

उनले कार्यक्रमले विद्यार्थीमा समस्या समाधान, अनुसन्धान, नेतृत्व तथा उद्यमशीलतासम्बन्धी जीवनोपयोगी सीप विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। विद्यालयलाई केवल पढाइ हुने थलोबाट सिकाइ, अनुसन्धान र उत्पादनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको उनले बताए।

परियोजनाको मूल्याङ्कनपछि उत्कृष्ट तीन विद्यालयलाई जनही एक लाख रुपैयाँ र उत्कृष्ट १० शिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने नगरपालिकाले जनाएको छ।

प्रकाशित समय : ०६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु