गृहपृष्ठ राष्ट्रियसभामा आज विभिन्न अध्यादेश प्रस्तुत हुँदै
राष्ट्रियसभामा आज विभिन्न अध्यादेश प्रस्तुत हुँदै
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन, सिंहदरबारमा अपराह्न १ः१५ बजे बस्ने बैठकमा विभिन्न अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गरिने कार्यसूची रहेको छ।
बैठकको प्रारम्भमा राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभालाई जानकारी गराउनेछन्। त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहले थारू आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नेछन्।
बैठकमा प्रधानमन्त्री शाहले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ र सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ पेश गर्नेछन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।
यस्तै, गृहमन्त्री सुदन गुरुङले गृहमन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रकाशित समय : ०६:३२ बजे


















