global ime bank Long Banner Ad

गृहपृष्ठ सीप सिकेर आत्मनिर्भर बन्दै म्याग्देका महिला

सीप सिकेर आत्मनिर्भर बन्दै म्याग्देका महिला

सीप सिकेर आत्मनिर्भर बन्दै म्याग्देका महिला

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीका महिलाहरू सीपमूलक तालिममार्फत आत्मनिर्भर बन्ने अभियानमा जुटेका छन्। गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत सञ्चालन गरिएको उद्यम विकास तालिममा ३५ जना महिला सहभागी भएका छन्।

तालिममा महिलालाई नेपाली कागजबाट धूप, बत्ती तथा हस्तकलाजन्य सामग्री उत्पादन गर्ने सीप सिकाइएको छ। साथै स्थानीयस्तरमा उपलब्ध कृषि उत्पादन प्रयोग गरी विभिन्न प्रकारका अचार बनाउने तरिका पनि प्रशिक्षण दिइएको छ। सहभागी महिलाले करेला, आँप, कागती, खुर्सानीलगायतका अचारका साथै कुखुरा, भैँसी र बँदेलको मासुको अचार बनाउने विधि सिकिरहेका छन्।

म्याग्दे गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले महिलालाई सीप सिकाएर उद्यमीका रूपमा स्थापित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार स्थानीय स्रोत र साधनको उपयोग गरी महिलालाई गाउँमै बसेर आयआर्जन गर्ने वातावरण तयार गर्ने लक्ष्य राखिएको छ।

तालिमकी प्रमुख प्रशिक्षक पवित्रा लामिछानेले सहभागी महिलाको सिकाइप्रतिको उत्साह प्रशंसनीय रहेको बताउँदै उत्पादनसँगै बजारीकरणसम्बन्धी ज्ञानसमेत प्रदान गरिएको जानकारी दिनुभयो।

तालिममा सहभागी सरस्वती श्रेष्ठले तालिमले नयाँ सम्भावनाको ढोका खोलेको बताउनुभयो। यसअघि झोल साबुन उत्पादन गर्दै आएको समूहले अब धूप, बत्ती र अचार उत्पादन गरी व्यवसाय विस्तार गर्ने योजना बनाएको उहाँले बताउनुभयो।

म्याग्दे–४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठले महिलाको माग र आवश्यकतालाई ध्यानमा राखेर तालिम सञ्चालन गरिएको उल्लेख गर्दै सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।

तालिमबाट उत्पादित सामग्रीको बजारीकरणका लागि गाउँपालिकाले पोखरास्थित साइनो किचन कर्नरसँग सहकार्य थालेको छ। संस्थाले कच्चा पदार्थ उपलब्ध गराउनुका साथै उत्पादित सामग्रीको बजार व्यवस्थापनमा सहयोग गर्ने जनाएको छ।

प्रकाशित समय : ०६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु