गृहपृष्ठ कामपाले बहाल कर घटायो, घरघरमै नागरिकता र राष्ट्रिय परिचयपत्र सेवा दिने
कामपाले बहाल कर घटायो, घरघरमै नागरिकता र राष्ट्रिय परिचयपत्र सेवा दिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बहाल करको दर हेरफेर गर्दै आवासीय प्रयोजनका लागि बहालमा लगाइएका घरजग्गाको कर घटाउने निर्णय गरेको छ।
बिहीबार आगामी आवको बजेट प्रस्तुत गर्दै कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वार्षिक दुई लाख ४० हजार रुपैयाँभन्दा बढी बहाल आम्दानी हुने आवासीय घरजग्गामा लाग्ने बहाल कर १० प्रतिशतबाट घटाएर ७ प्रतिशत कायम गरिएको जानकारी दिइन्। दुई लाख ४० हजार रुपैयाँभन्दा कम आम्दानी हुने घरजग्गामा भने पाँच प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ।
महानगरपालिकाले करको दायरा विस्तार गर्न असोज मसान्तभित्र कर बुझाउने नयाँ करदातालाई १० प्रतिशत छुट दिने तथा सोही अवधिमा बक्यौता कर चुक्ता गर्ने करदाताको जरिवाना मिनाहा गर्ने कार्यक्रम पनि ल्याएको छ।
आगामी आर्थिक वर्षदेखि घरघरमै नागरिकता र राष्ट्रिय परिचयपत्र सेवा उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ। युवा लक्षित स्वरोजगार कार्यक्रम सञ्चालनका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
त्यसैगरी, महानगरपालिकाले बहुवर्षीय योजनाअन्तर्गत आफ्नै अस्पताल निर्माण सुरु गर्ने भएको छ। अस्पताल निर्माणको पहिलो वर्षका लागि चार करोड रुपैयाँ बजेट छुट्याइएको छ। ज्येष्ठ नागरिकका लागि निमोनिया खोप कार्यक्रममा एक करोड रुपैयाँ तथा एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र स्थापनाका लागि दुई करोड रुपैयाँ विनियोजन गरिएको छ।
निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइएको छ भने स्वनिगः विश्वविद्यालय स्थापनाको प्रारम्भिक प्रक्रिया अघि बढाउन ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ। पोषणभत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ विनियोजन गरिएको महानगरपालिकाले जनाएको छ।
यता, काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति कार्यक्रममा बाँकी रहेको एक हजार ५७६ सिटका लागि पुनः अनलाइन आवेदन खुला गरेको छ। आवेदन असार ८ गते साँझ ५ बजेसम्म दिन सकिने व्यवस्था गरिएको छ।
यस वर्ष महानगरपालिकाले १४५ शिक्षण संस्थामा चार हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरेकामा पहिलो र दोस्रो मनोनयन सूचीबाट तीन हजार २८१ विद्यार्थी भर्ना भएका छन्।
प्रकाशित समय : ०६:१४ बजे



















