गृहपृष्ठ काभ्रेमा ८ हजारभन्दा बढी नयाँ नागरिकता जारी, २७ हजारले दिए राष्ट्रिय परिचयपत्रको आवेदन
काभ्रेमा ८ हजारभन्दा बढी नयाँ नागरिकता जारी, २७ हजारले दिए राष्ट्रिय परिचयपत्रको आवेदन
काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ८ हजार ६० नयाँ नागरिकता जारी गर्यो। सोही अवधिमा जिल्लाका २७ हजार ३२५ नागरिकले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिए।
कार्यालयले सार्वजनिक गरेको ११ महिनाको कार्यप्रगति विवरणअनुसार २० जनाले आमाको नामबाट नागरिकता लिए। नयाँ नागरिकता लिनेभन्दा नागरिकताको प्रतिलिपि बनाउनेको संख्या बढी रह्यो। यस अवधिमा १० हजार ६९ जनाले नागरिकताको प्रतिलिपि लिए।
त्यस्तै, गत साउनदेखि जेठसम्म ३६ वटा गैरआवासीय नेपाली नागरिकता र आठ वटा अङ्गिकृत नागरिकता जारी भए। यस अवधिमा ४७ जनाले नागरिकता परित्याग गरे भने आठ वटा नागरिकता रद्द भए।
राष्ट्रिय परिचयपत्रतर्फ २७ हजार ३२५ जनाले आवेदन दिए। हालसम्म ६ हजार ६१६ परिचयपत्र कार्ड वितरण भए। साथै, ५०१ दलित तथा जनजाति परिचयपत्र जारी भए।
यसैगरी, १२ हजार ३७ राहदानी आवेदन दर्ता भए। तीमध्ये ११ हजार ५८२ राहदानी कार्ड वितरण भए। ५५७ नाबालक परिचयपत्र पनि जारी भए।
कार्यालयमा दर्ता भएका १०२ मुद्दामध्ये ६७ वटा फर्छ्योट भए भने २११ ठाडो उजुरीमध्ये २०१ वटा समाधान भए। चालु आर्थिक वर्षमा १९ नयाँ संघसंस्था दर्ता भए भने १९४ वटा संस्था नवीकरण भए। पाँचवटा हातहतियारको नवीकरण गरियो।
राहत वितरणतर्फ सहिद परिवार, द्वन्द्वपीडित परिवार तथा वैदेशिक रोजगारपीडित परिवारलाई एक करोड २१ लाख ३५ हजार ९८१ रुपैयाँ राहत वितरण गरियो। विपद् प्रभावितका लागि २२ लाख ७५ हजार रुपैयाँ राहत उपलब्ध गराइयो।
कार्यालयले हालसम्म ६ करोड ५० लाख ६८ हजार ५२९ रुपैयाँ राजस्व सङ्कलन गर्यो। धरौटी विवरणबाट ३ करोड ५२ लाख ४७ हजार ७३३ रुपैयाँ आम्दानी भयो भने धरौटी फिर्ताबापत ३४ लाख ९ हजार ३९२ रुपैयाँ भुक्तानी गरियो।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कार्यालयबाट प्रदान गरिने सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन प्रयास भइरहेको बताए। शान्ति–सुरक्षा र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिएको उनको भनाइ थियो।
प्रकाशित समय : ०६:०७ बजे



















