global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छ : अर्थमन्त्री

प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छ : अर्थमन्त्री

प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छ  : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रिय गौरवका आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ माथि शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकाय, रक्षा मन्त्रालय तथा राष्ट्रिय योजना आयोगसँग सम्बन्धित शीर्षकहरूमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन्।

अर्थमन्त्री वाग्लेले आयोजनाको जग्गा प्राप्ति, सम्भाव्यता अध्ययन तथा पूर्वतयारीका कार्य पूरा भएपछि मात्र राष्ट्रिय गौरवका आयोजनाका रूपमा स्वीकृत गरी बजेट विनियोजन गर्ने नीति अवलम्बन गरिएको स्पष्ट पारे। यसले भविष्यमा आयोजना तोकिएको समयमा सुरु तथा सम्पन्न हुने विश्वास व्यक्त गरे।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूको कुल बजेटमा परिवर्तन नभएको तर सूचना प्रविधि विभाग र राष्ट्रिय साइबर सुरक्षा केन्द्रको पुँजीगत बजेट प्रणालीगत कारणले विकास कार्यक्रम पुस्तिकामा नदेखिएको स्पष्ट पारे।

संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयमा बोल्दै अर्थमन्त्री वाग्लेले तीन तहका सरकारबीच कार्यक्षेत्र स्पष्ट गर्न २०७३ सालमा कार्यविस्तृतीकरण प्रतिवेदन तयार गरिएको र हाल त्यसलाई परिमार्जन गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

उनले संघ, प्रदेश र स्थानीय तहका सरोकारवालासँग छलफल गरी विज्ञहरूको रायसमेत समेटेर प्रतिवेदनको मस्यौदा तयार गरिएको र आवश्यक अध्ययनपछि परिमार्जन गरिने बताए।

डिजिटल प्रविधि सम्बन्धमा

ठूला डाटा सेन्टर स्थापनासम्बन्धी प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले हाल सिंहदरबारस्थित एकीकृत डाटा व्यवस्थापन केन्द्र, हेटौँडास्थित डिजास्टर रिकभरी केन्द्र सञ्चालनमा रहेको जानकारी दिए। कोहलपुरस्थित डाटा सेन्टर निर्माण सम्पन्न भएको र खुमलटारमा डाटा सेन्टर स्थापनाको प्रारम्भिक कार्य सम्पन्न भएको पनि उनले बताए।

भविष्यमा एआईसहितका डाटा सेन्टर स्थापना गर्दा स्थान छनोटमा हावापानी, भौगोलिक अवस्था तथा वातावरणीय प्रभावको मूल्याङ्कन गर्ने व्यवस्था मिलाइने उनले स्पष्ट पारे।

सूचना प्रविधि शिक्षा विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गरिएको उल्लेख गर्दै उनले सरकारको नीति र बजेटले डिजिटल पूर्वाधार विस्तार, सेवा प्रवाहको आधुनिकीकरण तथा पारदर्शिता अभिवृद्धिलाई प्राथमिकता दिएको बताए।

काठमाडौँको स्युच्याटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको पनि उनले जानकारी दिए।

राष्ट्रिय सुरक्षा सम्बन्धमा

अर्थमन्त्री वाग्लेले शान्ति सुरक्षा तथा कानुनी व्यवस्थाको पालना सुनिश्चित गर्नु सरकारको प्रमुख दायित्व भएको बताए। राष्ट्रिय अनुसन्धान विभागलगायत निकायहरूले यसमा काम गरिरहेको उल्लेख गर्दै उनले सूचना प्रविधि र एआईको उपयोग बढाएर गुप्तचर प्रणालीलाई अझ आधुनिक र प्रभावकारी बनाइने बताए।

साइबर सुरक्षा सुदृढीकरणका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्र र साइबर ब्युरोजस्ता निकायहरू सक्रिय रहेको उल्लेख गर्दै उनले आवश्यक पूर्वाधार विस्तार र संस्थागत क्षमता विकासका कार्यक्रम अघि बढाइएको जानकारी दिए।

नेपाली सेनाको आधुनिकीकरण, प्रविधि विकास, सीमा सुरक्षा सुदृढीकरण तथा विपद् व्यवस्थापन क्षमतामा सुधार हुँदै गएको उल्लेख गर्दै उनले भविष्यमा समेत राष्ट्रिय सुरक्षा, प्रविधि र पूर्वाधारलाई थप सुदृढ गर्दै लगिने बताए।

प्रकाशित समय : २१:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु