गृहपृष्ठ प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर निहुरियो : प्रदीप पौडेल
प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर निहुरियो : प्रदीप पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिका कारण देशको प्रतिष्ठामा आघात पुगेको बताएका छन् ।
नेपाल औषधि थोक व्यवसायी संघद्वारा आयोजित ‘औषधि बजारको विद्यमान चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले नयाँ सरकार गठन हुँदा सुधार, सुशासन र विकृतिको अन्त्य हुने अपेक्षा गरिएको भए पनि छोटो समयमै सरकारको कार्यशैलीप्रति प्रश्न उठ्न थालेको बताए ।
उनले भने, ‘नयाँ सरकार बन्यो । यो सरकारसँग धेरै ठूलो अपेक्षा थियो। सबै क्षेत्रका विकृतिहरू अन्त्य हुन्छन् र सुधार हुन्छ । सुशासन प्राप्त हुन्छ, नयाँ शिराबाट अगाडि बढ्ने स्थिति बन्छ । तर यति छिट्टै टिकाटिप्पणी गर्नुपर्ने स्थिति आउला भनेर कसैले कल्पनै गरेको थिएन । तर परिस्थिति यस्तो बनिरहेको छ कि एकदमै धेरै विश्वास गरेको प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको शिर निहुरिएको छ । लज्जाबोध गर्नुपर्ने स्थिति बनिरहेको छ । राष्ट्रियताकै मामिलामा, स्वाभिमानकै मामिलामा डिफेन्सिभ हुने अवस्था सिर्जना भएको छ। फौजदारी अभियोग लागेको, भ्रष्टाचारको मुद्दा लागेको सांसद पदमा रहिरहने स्थिति कायम भएको छ । कसैलाई आरोप लाग्छ, आफैं छानबिन समिति बनाइन्छ। प्रतिवेदन सार्वजनिक पनि हुँदैन ।’
उनले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले राष्ट्रियता र स्वाभिमानको विषयमा देशलाई रक्षात्मक अवस्थामा पुर्याएको टिप्पणी गरे । प्रधानमन्त्रीप्रति जनताले अत्यधिक विश्वास गरेको उल्लेख गर्दै उनले त्यही विश्वासमाथि चोट पुग्ने अवस्था सिर्जना भएको बताए ।
पौडेलले फौजदारी अभियोग तथा भ्रष्टाचारका मुद्दा खेपिरहेका व्यक्तिहरू सांसद पदमै कायम रहनु चिन्ताजनक भएको उल्लेख गरे । साथै, आरोप लागेका विषयमा स्वतन्त्र छानबिनको सट्टा सम्बन्धित पक्षले आफैं छानबिन समिति गठन गर्ने र त्यसको प्रतिवेदनसमेत सार्वजनिक नगर्ने प्रवृत्तिले सुशासनमाथि प्रश्न उठाएको उनको भनाइ थियो ।
कार्यक्रममा उनले सरकार पारदर्शिता, जवाफदेहिता र सुशासनको मार्गमा अघि बढ्न नसके जनविश्वास थप कमजोर हुने चेतावनीसमेत दिए ।
प्रकाशित समय : १९:५१ बजे



















